राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना प्रक्रिया अघि बढ्यो

काठमाडौं, सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । बीहिबार बसेको मन्त्रीपरिषद् बैठकले प्रतिष्ठान निमार्णका लागि प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई सैद्धान्तीक सहमती दिएको हो । मन्त्रालयले प्रतिष्ठानको विधेयक तयार पारेको छ ।

स्वास्थ्य मन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलका अनुसार प्रतिष्ठानको विधेयक छिट्टै संसदमा दर्ता हुनेछ । यो प्रतिष्ठान सरकारले प्रदेश नम्बर पाँचका लागि स्थापना गर्न लागेको हो ।

सरकार र डा. गोविन्द केसीबीच हरेक प्रदेशमा सरकारले एक मेडिकल कलेज स्थापना गर्ने सहमती भएको थियो । सो सहमती अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुन लागेको हो । राप्ती उपक्षेत्रीय अस्पताललाई सरकारले प्रतिष्ठान बनाउने छ ।