एकजना सिपाही: जसले मोदी सरकार र भारतीय सेनाको पोल यसरी खोले

भारतीय सेना भित्रको भ्रष्टाचारको रामलीला

नयाँ दिल्ली,भारतीय सीमा सुरक्षा बलका एक सिपाहीले प्रधानमन्त्री नरेन्द्र मोदी र उनी मातहतको सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उठाएर हलचल मच्चाएका छन् । पाकिस्तानी सीमानस्थित कश्मिरमा तैनाथ भएका बीएसएफका सिपाही तेजबहादुर यादवले फेसबुकमा हालेको केही भिडियो सनसनी मच्चाएको हो ।

यी भिडियोमा उनले आफ्ना उच्च अधिकारीमाथि गम्भीर आरोप लगाएका छन् । गोरखालीसमेत तैनाथ रहेको कश्मिरमा कार्यरत उनले सरकारको तर्फबाट पठाइने राशन आफ्ना वरिष्ठ अधिकारीले बजारमा बेचेर खाने गरेको आरोप लगाएपछि मोदी सरकारमा पनि खलबली मच्चिएको छ। उनले आफूहरुलाई आएको रासन हाकिमहरुले बजारमा बेचेपछि सिपाहीहरुलाई केवल बेसार हालेको दाल र डढेको रोटीबाहेक केही नमिलेको गुनासो भिडियोमा गरेका छन् ।

भिडियो लाखौँले सेयर गरेर भाइरल भएपछि भारतीय गृह मन्त्री राजनाथ सिंहले बीएसएफसँग रिपोर्ट माग गरेका छन् । यसका अलावा बीएसएफले जाँचका लागि डीआईजीस्तरका अधिकारीलाई पाकिस्तानी सिसामा पठाएको छ । डीआईजीलाई पठाएपछि बीएसएफले भने तेजबहादुर माथि नै गम्भीर आरोप लगाएको छ ।

बीएसएफको एक बक्तब्यमा भनिएको छ, ‘कन्स्टेबल तेजबहादुर विगत राम्रो छैन । जागिरको सुरुवातदेखि नै मानसिक उपचारको जरुरी पर्‍यो । उनी कयौँ दिनसम्म ड्युटीबाट गायव हुन्थे । अधिकृतहरुसँग उनी नराम्रो व्यवहार गर्थे र मदिराको कुलतमा पनि फसेका थिए । यहीकारण उनलाई धेरैजसो समय हेडक्वार्टरमा वरिष्ठ अधिकारीको निगरानीमा राखिएको थियो ।’

आफूलाई बीएसएफको २९ औँ बटालियनको सदस्य बताउने तेजबहादुरले फेसबुकमा चारवटा भिडियो शेयर गरेका छन् । उनले सरकारलाई सन्देश दिँदै मेसमा बनिरहेको खाना देखाएका छन् । साथै उनले आफुहरुलाई मिल्ने खाना पनि धेरै खराब हुने र सिपाहीहरु कयौँ पटक भोकै सुत्ने गरेको पनि गुनासो गरेका छन् ।

यो भिडियोमा उनी अगाडि भन्छन्, ‘सरकार हामीलाई हर चीज दिन्छ, हर सामान पठाउँछ तर उच्‍च अधिकारी सबै बेचेर खान्छन्, हामीलाई केही पनि मिल्दैन । कयौँ पटक त सिपाहीले भोकै पेट सुत्नुपर्छ ।’ उनले आफूहरुमाथि उच्च अधिकारीबाट भइरहेको अत्याचारबारे आमभारतीयले देखुन् भन्नका लागि आफूले यी भिडियो सार्वजनिक गर्न बाध्य भएको दाबी गरेका छन् ।

तेज बहादुरले केही सन्देशसहित फेसबुकमा पठाएको एउटै भिडियो अहिलेसम्म पचास लाखले हेरिसकेका छन् भने तीन लाख ३१ हजार भन्दा धेरैले शेयर गरिसकेका छन् ।

यस भिडियो भाइरल भएपछि गृह मन्त्री राजनाथ सिंहले तत्काल कारबाही थालेका छन् । उनले ट्वीट गर्दै भने, ‘मैले बीएसएफ सिपाहीसँग सम्बन्धित भिडियो हेरेँ। मैले गृह सचिवलाई यसबारेमा बीएसएफसँग तत्काल रिपोर्ट लिएर कारबाही थाल्न भनेको छु ।’

बीएसएफले पनि यी भिडियोको जानकारी लिएर जाँच थालेको छ । अर्धसैनिक बलको आाधिकारिक एकाउन्टबाट गरिएको एक ट्वीटमा भनिएको छ, ‘सिपाहीको हेरचाहलाई लिएर बीएसएफ संवेदनशील छ । यदि कसैले व्यक्तिगत अनियमितता गरेको छ भने जाँच गरिनेछ । उच्च अधिकारीहरू सीमाक्षेत्रमा पुगिसकेका छन् ।’