शिक्षा राज्यमन्त्रीको सुरक्षार्थ खटिएकी महिला प्रहरीमाथि यौन हिंसा !

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा राज्यमन्त्री धनमाया बिक खनालको सुरक्षार्थ खटिएकी एक महिला प्रहरीले आफू यौन हिंसामा परेको बताएकी छिन् । राज्यमन्त्री बिकले भने ती महिला प्रहरी पुरुषहरुसँगै तास खेलेर बस्ने गरेको बताएकी छिन् । प्रशंग हो, शिक्षा राज्यमन्त्री बिकको सुरक्षामा खटिएका दुईमध्ये एक महिला प्रहरी सरिताकाे (नाम परिवर्तन) । सरिताले राज्यमन्त्री बिकका एकजना सहयोगीले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकी छिन् ।

मन्त्रीको सुरक्षार्थ खटिएकी ती महिला प्रहरीले मन्त्री बिकका सहयोगी धनकुटा निवासी किरण राईले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकी हुन् । मन्त्रालय स्रोतका अनुसार किरण राई मन्त्रीका स्वकीय सचिव वा त्यस्तो कुनै जिम्मेवारीमा नभए पनि बारम्बार मन्त्रालयमा जाने गरेका थिए । उनी मन्त्रीका भाइको साथीका नाताले सिंहदरबार जाने गरेका थिए ।

राज्यमन्त्रीको कार्यकक्ष भन्दा माथिल्लो तल्लामा मन्त्रीका सुरक्षाकर्मीहरू बस्ने कोठा थियो । मन्त्री बिक कार्यालयमा काम गरिरहेका बेला मन्त्रीका दुईजना सुरक्षा गार्डहरु त्यहाँ आराम गर्ने गरेका थिए । दुबै महिला सुरक्षाकर्मीहरू हुन् ।मन्त्रालयमा कामविनै आइरहने किरण राई र मन्त्रीकाे सुरक्षामा खटिने महिला प्रहरीवीच चिनजान र बोलचाल हुन थाल्यो । राज्यमन्त्री बिकको चारमहिने कार्यकालमा ती पुरूषाजन र प्रहरीवीच बाक्लै हिमचिम हुन थाल्यो । यसक्रममा किरणले एक महिला प्रहरीलाई जिस्काउन थाले, जुन मन्त्रालयका अन्य कर्मचारीलाई समेत पच्ने खालकाे थिएन ।

यसैसाता राज्यमन्त्री बिक लमजुङ गइन् । उनी फर्केर सिंहदरबार आएपछि केही कर्मचारीले राज्यमन्त्रीलाई ती दुईजनाको आपसी हिमचिम पाच्य नभएको जानकारी गराए । त्यसलगत्तै राज्यमन्त्री धनमायाले दुबैलाई आफ्नो च्याम्बरमा बोलाइन् ।
मन्त्रालयभित्र यस्तो व्यवहार शोभनीय नहुने भन्दै राज्यमन्त्री बिकले दुबैलाई सम्झाइन् । उनले राईलाई अबदेखि महिलाहरुलाई जिस्काउने कार्य बन्द गर्न र महिलामाथि सम्मानजनक व्यवहार गर्न भनिन् ।
त्यसै क्रममा महिला प्रहरीले आफू महिला भएको हुनाले राईलाई फसाइदिन सक्ने चेतावनी दिइन् । राज्यमन्त्री बिकले आफू पनि महिला नै भएको हुनाले रीस उठेको छ भन्दैमा त्यस्तो बदनियत राख्न नहुने र महिलाले पनि आफू मर्यादामा बस्नुपर्ने भन्दै ती महिला प्रहरीलाई सम्झाइन् ।

मन्त्रालय स्रोतका अनुसार राज्यमन्त्रीले दुबैलाई एकै ठाउँमा राखेर सम्झाएपछि उनीहरु दुईजना वीच कुरा मिल्नुको साटो झनै तनाव र झगडा बढ्यो । त्यसपछि ती महिला प्रहरीले आफूमाथि यौन हिंसा भएको आरोप लगाउँदै मिडियामा जाने बताइन् । र, उनी मन्त्रीको सुरक्षामा समेत खट्न छाडिन् ।

राज्यमन्त्रीको सचिवालयका एक कर्मचारीले बताएअनुसार यो काण्डमा राज्यमन्त्री धनमायाको खासै दोष देखिँदैन । तर, उनको आफन्त बनेर सिंहदरबारमा आइरहने किरण राईको हरकत चाँहि सही थिएन । यद्यपि उसले यौनहिंसा गरे नगरेको आफूहरुलाई थाहा नभएको तर दुबैजना आपसका जिस्कने गरेको देखेर मन्त्रीलाई रिपोर्ट गरेको कर्मचारीहरु बताउँछन् ।
स्रोतले भन्यो, ‘मन्त्रीज्यूको एउटा चाहिँ गल्ती के देखियो भने जिल्लाबासी वा भाइको नाताले सिंहदरबारमा कामविनै छिर्ने किरणजस्ता व्यक्तिहरुलाई बेलैमा उनले सिंहदरबार प्रवेशमा रोक लगाउनुपथ्र्यो ।’

के भन्छिन् राज्यमन्त्री ?

यसबारे जिज्ञासा राख्दा राज्यमन्त्री बिकले मन्त्रालयमा को-को मानिसहरु आउँछन्, आफूले सबैलाई रोक्न नसक्ने बताइन् । मन्त्रीको सुरक्षामा प्रहरी कार्यालयबाट खटिएका प्रहरीले पनि अनुशासनमा बस्नुपर्ने उनले बताइन् ।उनले भनिन्- ‘मेरो सुरक्षामा खटिएकी प्रहरी माथ्लो तलामा तिनै केटाहरुसँग तास खेलेर बस्ने गरेको सुनें, ऊ मेरो सुरक्षाका लागि आएकी हो कि तास खेल्न ?’

मिलुञ्जेलसम्म केटाहरुसित जिस्केर हिँड्ने अनि रीस उठ्नासाथ पुरुषमाथि यौन हिंसाको आरोप लगाउने चलन ठीक नभएको राज्यमन्त्री बिकले बताइन् ।उनले भनिन्- मैले ती प्रहरीलार्इ ‘तिमीमाथि यौन हिंसा भएको हो ? भनेर सोधें, उनले त्यस्तो त हैन भनिन्, मिडियाबाट फोन आउँदा पनि मैले उनैलाई फोन दिएँ, उनले यौन हिंसा भएको हैन भनिन् ।’ती महिला प्रहरीकाे हरकतबारे अाफूले प्रहरी हेडक्वार्टरमा समेत जानकारी दिइसकेकाे राज्यमन्त्री बिकले बताइन् ।