अस्पतालको अनियमितता छानविन गर्न स्वास्थ्यमन्त्री गगन थापाको निर्देशन

स्वास्थ्यमन्त्री गगनकुमार थापाले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा स्थानीयवासीले विभिन्न माग राखी दिएको ध्यानाकर्षण पत्रका सम्बन्धमा तत्काल छानबिन गर्न निर्देशन दिएका छन् ।

स्थानीयवासीद्वरा गठित उपभोक्ता सरोकार समिति बुटवल–९ दीपनगरले चारसूत्रीय मागसहित अस्पताल निर्देशक डा विनोद पराजुलीलाई शुक्रबार ज्ञापनपत्र बुझाएका हो ।

स्थानीयवासीको ज्ञापनपत्रमा २०५३ सालमा स्थापना गर्दा अस्पतालले लिएका उद्देश्य तथा कार्यक्रम लागू नगर्नुका कारण सार्वजनिक गर्नुपर्ने, स्थानीय व्यवस्थापन समितिलाई सम्पूर्ण सञ्चालन– व्यवस्थापनको जिम्मेवारी दिनुपर्ने र व्यवस्थापन समितिमा वडा प्रमुखलाई सदस्यमा राख्नुपर्ने उल्लेख छ ।

वडावासीलाई उपचारमा ५० प्रतिशत छुट दिनुपर्ने माग पनि गरिएको छ । आम्दा अस्पताल २०७३ सालदेखि सुरु भएको हो । हाल १०० श्ययाको अस्पताललाई सरकारले १० बिघा जग्गा उपलब्ध गराएको छ ।

सरकारले गरेको सहयोग र संस्थाको उद्देश्यअनुसार झापा तथा अन्य स्थानमा अस्पतालको स्तरोन्नति भए पनि बुटवलमा नभएको आरोप स्थानीयवासी सरोकार समितिका सदस्य प्रकाश पाठकले लगाए । आम्दा अस्पताल बुटवलका प्रशासन प्रमुख ध्रुव श्रेष्ठले स्तर वृद्धि अहिले आवश्यक नभएको प्रतिक्रिया दिए ।