हिमालय शारीरिक सुगठन चैतमा

नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घको आयोजनामा छैटौँ मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता आगामी चैत २५ र २६ गते काठमाडौँमा हुने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजीमुनि र ७५ केजीमाथि गरी छ तौल समूहमा प्रतिस्पर्धा हुने आयोजक सङ्घका महासचिव राजन श्रेष्ठले जानकारी दिनुभयो ।

मिस्टर हिमालय उपाधि विजेताले रु दुई लाख ७५ हजार पुरस्कार प्राप्त गर्नेछन् । सो पुरस्कार गत संस्करणभन्दा रु ५० हजारले बढी हो । पाँचौंँ संस्करणका विजेता नेपाल व्यायाम मन्दिरका रामहरि खनालले रु दुई लाख २५ हजार हात पारेका थिए । त्यस्तै आआफ्नो तौल समूहमा पहिलो हुनेले रु २५ हजार, दोस्राले १५ हजार र तेस्राले रु १० हजार पुरस्कार जित्ने छन् ।

प्रतियोगिताका क्रममा पुरुष फिटनेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स विधामा पनि प्रतिस्पर्धा हुनेछ । सो स्पर्धा नेपालमै पहिलो पटक हुन लागेको महासचिव श्रेष्ठले बताउनुभयो । एक संस्थाबाट एक वजन समूहमा बढीमा दुई खेलाडीले मात्र भाग लिन पाउने प्रावधान छ ।