सेना र प्रहरी अस्पतालमा अब सर्वसाधारणले पनि उपचार सेवा पाउने

काठमाडौं, सेना र प्रहरीका अस्पतालहरुमा आउँदो माघ १५ गतेबाट सर्वसाधारणहरुले पनि उपचार सेवा पाउने भएका छन् । स्वास्थ्यमन्त्रि थापाको बिशेष पहलमा सेना र प्रहरीका अस्पतालहरुमा माघ १५ गतेदेखि सर्बसाधारणले पनि उपचार सेवा पाउने व्यवस्था मिलाइएको हो । दिउँसो १ बजेदेखि ४ बजेसम्म ओपिडी सेवा सञ्चालन हुनेछ र त्यहाँ सर्बसाधारणले उपचार गराउन पाउनेछन् ।ति अस्पतालहरुमा यसअघि सेना र प्रहरी तथा उनीहरुका परिवारका सदस्यहरुले मात्रै उपचार हुने गर्दथ्यो ।

अब ती अस्पतालमा ओपिडी सेवा सुरु भएसँगै भविष्यमा अपरेशन लगायतका अन्य सेवाको लागि स्वास्थ्य मन्त्रालयले सेना तथा प्रहरीसित सहकार्य गर्दै जाने स्वास्थ्यमन्त्री गगन थापाका निजी सल्लाहकार प्रताप पौडेलले बताए । उनले भने, ‘नेपाल आर्मी र स्वास्थ्य मन्त्रालयबीच पटक–पटक भएको छलफल र सहकार्यपश्चात ती अस्पताल सर्वसाधारणका लागि खुला भएको छ’, सल्लाहकार पौडेलले भने, ‘अब त्यसलाई अझै व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालय कटिवद्ध छ ।’
अब राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश लगायतका भीभीआईपीको उपचार पनि वीर अस्पताल बाहेक सैनिक तथा प्रहरी अस्पतालमा रहेको भीआईपी कक्षबाट हुने उनले बताए ।

उनका अनुसार स्वास्थ्य मन्त्रालयको नीति अनुसार विशिष्ठ व्यक्तिहरुको उपचारको व्यवस्था नेपालमै मिलाउन यो व्यवस्था गरिएको हो ।यसको लागि ती अस्पतालहरुलाई भीआईपी कक्षको प्रभावकारी रुपमा व्यवस्थित गर्न तथा उपचारका लागि सहकार्य गर्ने सहमति भैसकेको छ ।

त्यसैगरी, सेनाको व्यारेक भएको स्थानमा सेनाको स्वास्थ्य टोलीले सरकारी अस्पतालहरुसित सहकार्य गरी सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने, सेनाको एयर एम्बुलेन्स र मोबाइल अस्पतालहरु स्वास्थ्य मन्त्रालयले पनि प्रयोग गर्ने, आपतकालीन अवस्थामा सेनासित सहकार्य गरी ‘अलर्ट समिति’ गठन गर्ने तयारी समेत भैरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पनि सेनाको अस्पतालहरुलाई अन्य अस्पताल सरह नै अनुदान पाउने व्यवस्थाको लागि पहल गर्ने तथा सेनाका तर्फबाट पोष्ट ग्रेजुएट गर्न चाहनेका लागि छात्रवृत्ति लगायतका सहुलियत दिने सहमति गरेको छ ।