पाटन नपाको बजेट रु १२ करोड ६७ लाख

बैतडी, देशका दशओटा नमुना सहर मध्येको एक नमुना सहर बैतडीको पाटन नगरपालिकाको तेस्रो नगरपरिषद् बिहीबार सम्पन्न भएको छ ।आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि रु १२ करोड ६७ लाख आठहजार दुईसय २० को बजेट सार्वजनिक गर्दै नगरपरिषद् सम्पन्न भएको हो । परिषद्ले चालुतर्फ, पुँजीगततर्फ, सामाजिक सुरक्षातर्फ, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा बजेट विनियोजन गरेको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत दशरथराम ओडले चालु आवकोे संशोधित बजेट र आगामी आवकोे बजेट प्रस्तुत गर्नुभएको हो । देशका दशओटा नमुना सहर मध्येको एक नमुना सहर पाटन भएकाले पनि नगरपरिषद्ले नमुना सहरलाई दृष्टिगत गर्दै आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेको कार्यकारी अधिकृत ओडले बताउनुभयो ।

नगरपालिकाले नगरपरिषद्बाट विभिन्न पाँचओटा कार्यविधि र नगर यातायात गुरुयोजना–२०७३ समेत पारित गरेको छ । पारित भएका कार्यविधि र नगर यातायात गुरुयोजनाले नगरपालिकालई व्यवस्थित गर्ने विश्वास लिइएको छ । पाटन नगरपालिकाको तेस्रो नगरपरिषद्ले ३१ ओटा विभिन्न नीतिलाई अङ्गिकार गर्ने भएको छ । नगरपालिकालाई ५ वर्षभित्र सडक सञ्जालमा जोड्नेदेखि लिएर शून्यफोहर नगरपालिका बनाउने सम्मका नीति अख्तियार गरिएको छ ।

यस्तै, नगरपालिकामा सञ्चालन हुने हरेक योजनालाई प्रभावकारी र पारदर्शी बनाउनका लागि पनि नीतिमै उल्लेख गरिएको छ । कार्यकारी अधिकृत ओडको अध्यक्षतामा सम्पन्न भएको तेस्रो नगरपरिषद्मा बैतडी क्षेत्र नं १ का पूर्वसभासद् नरेन्द्र कुँवर प्रमुुख अतिथि रहनुभएको थियो ।परिषद्मा प्रजिअ किशोरकुमार चौधरी विशिष्ट अतिथि रहनुभएको थियो भने विभिन्न राजनीतिक दलका पदाधिकारी, सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवम् प्रतिनिधि, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्रलगायत नगरवासीको सहभागिता रहेको थियो । परिषदमा सहभागीले नगरपालिकाले प्रस्तुत गरेका नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिएका छन् ।