नयाँ नगरपालिकाहरुका बजेट पारित

काठमाडौँ, २८ पुस । दक्षिणकाली नगरपालिकाले आगामी आव २०७४–०७५ का लागि रू १२ करोड १२ लाखको बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाको आज बसेको तेस्रो नगरपरिषद्मा नगरपालिकाका कार्यकारी अधिकृत भुवनहरि अर्यालले आन्तरिक स्रोत तथा बाह्य स्रोतबाट सो रकमको सङ्कलन गरी खर्च समेत प्रक्षेपण गरेको छ । चालु खर्चतर्फ करिब रू दुई करोड, सामाजिक सुरक्षा कार्यक्रमतर्फ करिब रू तीन करोड, नगरपालिका अनुदान पुँजीगत खर्चतर्फ रू चार करोड, स्थानीय विकास शुल्कतर्फ करिब रू एक करोड, उपभोक्ता समिति लागततर्फ रू एक करोडको खर्च अनुमान गरिएको जानकारी दिनुभयो ।

सो अवसरमा सांसद राजेन्द्र केसीले नगरपालिकाले त्यस क्षेत्रको विकास तथा पूर्वाधार निर्माणमा बजेट उपयोग गर्नुपर्नेमा जोड दिँदै स्थानीयवासीको लालपुर्जा बन्न नसकेका कारण विभिन्न समस्या उत्पन्न भएको हुँदा नगरपालिकालाई त्यसको विकल्पमा काम गर्न सुझाव दिनुभयो ।

सांसद पर्शुराम तामाङले त्यस क्षेत्रको सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षण गर्नाका साथै ठूला तपस्वीले तप गरेको ऐतिहासिकस्थलका रुपमा दक्षिणकालीलाई विकास गर्नुपर्ने बताउनुभयो ।

कैलाली– धनगढी उपमहानगरपालिकाको दोस्रो नगरपरिषद् बैठकले आगामी आव २०७४÷०७५ का लागि रु ४९ करोड ९४ लाख ३४ हजारको बजेट प्रस्तुत गरेको छ ।

यहाँ आज सम्पन्न परिषद्मा उपमहानगरपालिकाका कार्यकारी अधिकृत ध्यानकुमार थापाले सो बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेटमध्ये चालु खर्चतर्फ रु २० करोड तीन लाख ३० हजार र पुँजीगततर्फ रु २९ करोड ९१ लाख चार हजार विनियोजन गरिएको छ । बजेटमध्ये नगरपालिका कार्यालयको आन्तरिक स्रोतबाट रु नौ करोड ३७ लाख ११ हजार र बाह्य स्रोतबाट रु ४० करोड ५७ लाख २३ हजार व्यहोरिने छ ।

दुई वर्षअघि उपमहानगरपालिका घोषणा गरिएको धनगढी उपमहानगरका सबै २० वडामध्ये अधिकांश ग्रामीण क्षेत्रका वडामा सीमित साधन स्रोतको अभावका कारण विकासका आवश्यक पूर्वाधार जुट्न सकेका छैनन् ।

वन तथा भू संरक्षण राज्यमन्त्री दीर्घराज भाटले परिषद्को उद्घाटन गर्दै विकास निर्माणमा आफ्नो सक्दो सहयोग हुने बताउनुभयो ।

विराटनगर– विराटनगर उपमहानगरपालिकाले आगामी आवका लागि रु एक अर्ब ८९ करोड ६३ लाख ६१ हजारको बजेट प्रस्तुत गरेको छ । कार्यकारी अधिकृत दीपक कोइरालाले बजेट प्रस्तुत गर्दै विराटनगरलाई प्रादेशिक राजधानी बनाउने विषयलाई ध्यानमा राखी आवश्यक पूर्वाधार तयार गर्नका लागि बजेट केन्द्रित रहेको बताउनुभयो ।

बजेटअन्तर्गत उपमहानगरपालिकातर्फ रु ८४ करोड ६३ लाख ६१ हजार र मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजना÷क्षेत्रीय सहरी विकास परियोजनातर्फ रु एक अर्ब पाँच करोड गरी सो बरावरको बजेट प्रस्तुत गरिएको हो ।

परिषद्को उद्घाटन गर्दै सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले समाजको प्रत्येक वर्गमा विकासको अनुभूति हुनुपर्नेमा जोड दिनुभयो ।

हेटौँडा– हेटौंडा उपमहानगरपालिकाको २२ औँ नगरपरिषद्ले आगामी आवका लागि रु ६४ करोड १९ लाख ६९ हजारको बजेट प्रस्तुत गरेको छ ।

यहाँ आज आयोजित परिषद्मा कार्यकारी अधिकृत कृष्णप्रसाद पाण्डेले चालु खर्चतर्फ रु १० करोड ३२ लाख ६९ हजार र पुँजीगत खर्चतर्फ रु ५३ करोड ८३ लाख बराबरको बजेट प्रस्तुत गर्नुभयो ।

परिषद्को संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गर्दै दुर्गम भेगमा गरिबको रेखामुनि रहेका जनतालाई खानेपानी, विद्युतीकरण, विद्यालय निर्माण र सडक विस्तार गर्ने कार्यमा उपमहानगरपालिकाले सन्तुलित बजेट ल्याई जनतालाई प्रत्यक्ष लाभ पुग्ने योजनालाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा सांसद् अनन्तप्रसाद पौडेल र स्थानीय निकाय पुनःसंरचना आयोगका सदस्य डोरमणि पौडेलले हेटौंँडा सहरसँग जोडिएका पाँच गाविसका विभिन्न वडालाई उपमहानगरपालिकामा विस्तार गरिएकाले ती क्षेत्रका जनतालाई खानेपानी, सडक निर्माण, विद्युतीकरण र आर्थिक आत्मनिर्भर हुने योजनालाई नगरपरिषद्ले क्रमिक रुपमा कार्यान्वयन गर्र्दै जानुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा मकवानपुरका समाचारदाता कृष्णराम परियारलाई अग्रज पत्रकारका रुपमा सम्मान गरिएको थियो ।

मलेखु (धादिङ)–नीलकण्ठ नगरपालिकाको चौथो नगरपरिषद्ले आगामी आवका लागि रु २१ करोड ८४ लाख ३० हजार ८०० को बजेट प्रस्तुत गरेको छ ।

यहाँ आयोजित परिषद्मा कार्यकारी अधिकृत देवराज चौलागाईँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै आन्तरिकतर्फ १२ दशमलव ६१ प्रतिशत र बाह्य स्रोतबाट ८७ दशमलब ३८ प्रतिशत व्यहोरिने बताउनुभयो । महिला, बालबालिका, दलित, ज्येष्ठ नागरिक, जनजातिलाई ध्यानमा राखेर सानुपातिक र समावेशी हिसाबले बजेट ल्याइएको छ ।

जनकपुरधाम–जनकपुर उपमहानगरपालिकाको तेस्रो नगरपरिषद्ले आगामी आवका लागि रु एक अर्ब ३६ करोड ४५ लाख २७ हजारको बजेट पारित गरेको छ ।

कार्यकारी अधिकृत पुण्यप्रसाद लुइँटेलले आज आयोजित कार्यक्रममा प्रस्तुत गरेको बजेटमा आधुनिक र समृद्ध जनकपुर बनाउन जानकी मन्दिरलाई केन्द्रविन्दु कायम गरी पूर्वाधारका कार्य अगाडि बढाउने गरी बजेट ल्याइएको जानकारी दिनुभयो ।

जनकपुर उच्च अदालतका न्यायाधीश शिवनारायण यादवले जनकपुरको गरिमालाई उँचो हुने योजना कार्यान्वयनमा जोड दिनुभयो ।

कलैया (बारा) – गढीमाइ नगरपालिकाको चौथो नगरपरिषद्ले आगामी आवका लागि रु २० करोड ९९ लाख ३५ हजारको बजेट प्रस्तुत गरेको छ । कार्यकारी अधिकृत डिल्लीराम बेल्वासेले बजेट प्रस्तुत गर्दै विकासका पूर्वाधारलाई परिषद्ले प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

परिषद्को उद्घाटन गर्दैै सिँचाइमन्त्री दीपक बोहराले उद्घाटन गर्दै संविधान संशोधन प्रस्ताव नेकपा (एमाले)कै सहमतिमा केही दिनमा पारित हुने जिकिर गर्नुभयो ।

रुकुम–मुसिकोट नगरपालिकाले आगामी आवका लागि रु ११ करोड ९५ लाख ७९ हजार ९४० को बजेट सार्वजनिक गरेको छ ।

आज भएको तेस्रो नगरपरिषद्बाट चालु खर्चतर्फ रु एक करोड ३१ लाख ५० हजार नौ सय र पुँजीगत खर्चतर्फ रु आठ करोड नौ लाख २९ हजार तथा सामाजिक सुरक्षा भत्तातर्फ रु दुई २ करोड ८० लाखको बजेट कार्यकारी अधिकृत चन्द्रकान्त पौडेलले प्रस्तुत गर्नुभयो ।

बजेटले नगरपालिकालाई जातीय छुवाछुतमुक्त निर्माण, साँस्कृतिक तथा धार्मिक अध्ययन पहिचान, सार्वजनिक जग्गा अतिक्रमण रोक्न लगत तयार, नगरपालिकाको विकास मार्गचित्र तयारलगायत कामलाई प्राथमिकता दिएको छ ।