दुई जिल्ला जोड्ने पुल निर्माण हुने

पोखरा, कास्की र स्याङ्जा जिल्लालाई जोड्ने चिसापानी–सिगारेबास–टक्सार सडकमा पर्ने सुरौदी खोलामा रु छ करोड ९० लाखको लागतमा ६२ मिटर लम्बाइको आधुनिक मोटर चल्ने पुल निर्माण हुने भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आर्थिक एवम् सडक डिभिजन कार्यालय पोखराको प्राविधिक सहयोगमा निर्माण गरिने सो पुल दुई वर्षको अवधिमा सम्पन्न गरिने लक्ष्य रहेको छ ।

व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले बिहीबार यहाँ आयोजित एक समारोहबीच सो पुलको शिलान्यास गर्दै मुलुकको विकास निर्माणमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।मुलुकमा प्राविधिक जनशक्तिको अभावमा विकास निर्माणका कामको अनुगमन प्रभावकारी हुन नसकेको बताउँदै उहाँले थप दरबन्दी वा करारमा लिने वा सुविधा दिएर मौजुदा जनशक्तिलाई परिचालन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार रणनीतिक महत्वमा परेको चिसापानी– सिगारेवास –टक्सार ग्रामीण सडकलाई रु ३० करोडको लागतमा ७.५ मिटर चौडाइ डबल लेनको बनाउने कार्य प्रारम्भ गरिएको छ ।

पोखराको वडा नं १७ र २३ निर्मलपोखरीलाई जोडने दोविल्लास्थित पार्दीखोलाको पुलको मर्मत र खोलाले कटान गरेको जोखिममा रहेको दोविल्लाको बस्ती संरक्षणका लागि रु दुई करोड ५० लाख बजेट विनियोजन भइसकेको उहाँले बताउनुभयो ।

सांसद राजु थापाले कास्की, स्याङ्जा र तनहुँ जिल्लाको विकास निर्माण र यस क्षेत्रका बासिन्दाको समृद्धिका लागि पुल कोसेढुङ्गा साबित हुने बताउँदै सुरौदी खोला कोरिडोरको अवधारणालाई अगाडि बढाउन पहल भइरहेको जानकारी दिनुभयो ।

डिभिजन सडक कार्यालयका प्रमुख इन्जिनियर प्रकाश खत्रीले खोलाको बीच भागमा एउटा पिल्लर रहने आधुनिक पूर्वबलित प्रबिधिको सो पुलबाट दोहोरो यातायातका साधन आवतजावत गर्न सुविधा पुग्ने जानकारी दिनुभयो ।

भगवती चौतारा–दुलेडौडा–थपिनीचौतारा ग्रामीण सडक उपभोक्ता समितिका अध्यक्ष मानकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा भरतपोखरी गाविस र स्याङजाको टक्सार गाविसका पूर्वअध्यक्ष्।द्वय यज्ञप्रसाद अधिकारी र कमानसिँह गुरुङ, समाजसेवी कृष्णबहादुर गुरुङ लगायतले बोल्नुभएको थियो ।