खप्तड गोल्डकप फाइनलमा पुग्याे मनाङ मस्र्याङ्दी

धनगढी– मनाङ मस्र्याङ्दी क्लब यहाँ जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आज भएको पहिलो सेमिफाइन खेलमा भारतको दिल्ली युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै मनाङ मस्र्याङ्दी फाइनलमा पुगेका हो ।

खेलको सुरुआतमा दोस्रो मिनेटमै दिल्लीका थोपीले गोल गर्दै अग्रता लिए पनि सातौँ मिनेटमा मनाङका कप्तान अनिल गुरुङले गोल गर्दै खेल बराबरीमा पु¥याए । पहिलो हाफको ४४ आँैं मिनेटमा मनाङका ओलाओलेले अर्को गोल गर्दै अग्रता दिलाए ।

दोस्रो हाफमा केही आक्रामक रुपमा प्रस्तुत भएको मनाङले ८९ औंँ मिनेटमा तेस्रो गोल थप्दै जित सुनिश्चित ग¥यो । कप्तान अनिल गुरुङले व्यक्तिगत दोस्रो गोल गरी टोलीको जित सुनिश्चित गरे ।

जितपछि प्रतिक्रिया दिँदै मनाङका प्रशिक्षक छिरिङलोप्चन गुरुङले आफ्नो टोलीले राम्रो खेलेर जितेको छ भन्दै धेरै गोल गर्ने रणनीति दिल्लीका गोलरक्षक सन्जु थापाको उत्कृष्ट प्रदर्शनले असफल पारेको बताउनुभयो ।

मनाङका कप्तान गुरुङले अब उपाधि जित्ने जिकिर गर्दै फाइनलमा पनि यस्तै खेल खेलेर खप्तड गोल्डकपलाई आफ्नो पोल्टामा पार्ने बताउनुभयो ।

दिल्लीका प्रशिक्षक क्लेवसन वारतेले केही मौका गुमाउँदा र विपक्षीले उत्कृष्ट खेल खेल्दा फाइनलमा पुग्न नसकेको प्रतिक्रिया दिनुभयो । गोल्ड कपअन्तर्गत शुक्रबार दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम ११ र काठमाडाँैको सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुने छ ।