कमाउ अड्डमा मान्छे सेटिङ गर्दै सचिव टंकमणि

काठमाडौँ । एकपछि अर्को गर्दै विवादमा फस्दै आएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टंकमणि शर्माले पछिल्लो पटक कमाउ अड्डा नापी, मालपोत, भन्सारमा आफ्ना विश्वासपात्रलाई जसरी भएपनि ल्याउने मनसायका साथ गतिविधि गरिरहेको जन-आह्वान साप्ताहिकमा खबर छ
आफूलाई प्रधानमन्त्रीपछिको मान्छे भएको डिंग हाक्दै सचिव शर्माले जसरी भएपनि आफ्ना मान्छे भन्सार, नापी तथा मालपोतमा राख्ने भन्दै हर्कत सूरु गरेको बताइन्छ । सधै शक्तिमा रहन सकिदैन, भएको बेलामा नगरेर के गर्ने होर भन्दै सचिव शर्माले मुलुकका केही महत्वपूर्ण स्थानमा आफ्ना हनुमानलाई भर्ती गराएर उठती धन्दा चलाउने बताएका छन् । उनले त्यसका लागि विभिन्न शक्ति केन्द्रको समेत परिचालन गरेको बताइन्छ । बालकोट निवाससँग प्रत्यक्ष सम्पर्क रहेका शर्माले काँग्रेस सभापति शेरबहादुर देउवालाई समेत आफू हजुरकै मान्छे भएको भन्दै मन्त्रणा गरिसकेको बताइन्छ ।

उता सचिव शर्माले माओवादीले सम्हालेका आठ मन्त्रालयको वितृत विवरण तयार पार्न र दिनभरको प्रतिवेदन बुझाउन आफ्ना केही सुराकी परिचालन गरेको स्रोतको दावी छ । सरकारी कागजात र महत्वपूर्ण निर्णय शक्तिकेन्द्रलाई उपलब्ध गराउँदै आएका सचिव शर्माले पछिल्लो पटक दिनेशकुमार थपलियासँग मिलेर सरकार असफल बनाउने प्रपञ्चका साथ काम गरेको बताइन्छ ।

उता सचिव शर्माले महत्वपूर्ण सूचना चुहाएको भन्दै उनलाई मुख्य सचिव डा सोमलाल सुवेदीले आन्तरिक रुपमा अनुसन्धान गरिरहेको बताइन्छ । सरकारलाई असफल बनाउने, असजिलोमा पार्ने, प्रधानमन्त्रीले दिएको निर्देशन कार्यान्यन नगराउने काममा उनै सचिव शर्माको हात रहेको बताइन्छ । आगामी फागुनमा रिटायर हुन लागेका सचिव शर्माले सो अगावै हालका मुख्य सचिव डा सुेवेदीलाई महालेखापरिक्षक बनाएर आफू तीन वर्षका लागि मुख्य सचिव बन्ने इरादाका साथ काम गरिरहेको बताइन्छ ।
उता खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय भने सचिवको पदमा बसेर सरकारलाई गादी गर्दै बस्ने कामलाई निरन्तरता दिएका छन् । सामाजिक सञ्जाल फेसबुक र टुइटरमा वर्तमान सरकारलाई हदैसम्मको तल्लो स्तरमा उत्रेर सचिव उपाध्यायले स्टाटस राख्ने गरेका छन् । राज्यमन्त्री दिपक खड्कालाई रिझाएर खानेपानीको ट्यांकरवालासँग कमिसन बुझने खेलो फडेकोमा सचिव लागेको बताइन्छ ।