अपांगता भएकी महिलाको भरमा ५ दृष्टिविहीन र १० बालबालिका

काठमाडौं – सप्तरीको गम्हरिया प्रवाहा–४ स्थित पट्टी टोलमा ५० वर्षअघि जन्मिएका हुन् शम्भु मण्डल । उनी जन्मजात दृष्टिविहीन थिए । त्यस्तै, छिमेकी गाउँमा ४५ वर्षअघि सुकुमारीदेवी जन्मिएकी थिइन् । १२ वर्षकी थिइन्, घरमा आगलागी हुँदा उनी पनि जलिन् । छाती पूरै जलेको थियो । त्यसैले उनको स्तन विकसित हुन सकेन । स्थानीय भलाद्मीले अपांगता भएकी सुकुमारी र दृष्टिविहीन शम्भुको जोडी मिलाइदिए ।

शम्भुका भाइ शिवनारायण पनि दृष्टिविहीन नै जन्मिए । त्यसैले उनीसँग बिहे गर्न दृष्टिविहीन गीतादेवी मात्र तयार भइन् । यसरी शिव र गीताको दृष्टिविहीन जोडी बन्यो । शिव अहिले ४५ वर्षका भए भने गीता ४० वर्षकी ।

शम्भु र शिवनारायणकी एक मात्र बहिनी जयकला पनि जन्मजात दृष्टिविहीन हुन् । उनको खुट्टासमेत राम्ररी चल्दैन । उनीसँग बिहे गर्न छिमेकी गाउँका दृष्टिविहीन लक्ष्मण तयार भए । तर, उनी जयकलाभन्दा झन्डै दोब्बर जेठा छन् ।

शम्भुका दुई छोरा र दुई छोरी छन् । त्यस्तै, शिवनारायणका दुई छोरा, एक छोरी र बहिनीज्वाइँका दुई छोरा, एक छोरी छन् । १२ वर्षीय जेठा छोराले अब घाम डुबेपछि आँखा देख्न छाडेका छन् । त्यसैले उनीपछिका भाइबहिनीको भविष्य पनि कस्तो हुने हो ? अन्योल नै छ ।

परिवारको नाममा जम्मा तीन कट्ठा जग्गा छ । घरमा सुकुमारीबाहेक काम गर्न सक्ने कोही छैन । तर, तिनै सुकुमारीको हातमा तीन वर्षअघि भएको घाउ सञ्चो नहुँदा परिवार थप दुःखमा परेको छ ।

तर, सामाजिक भत्ताबाट वञ्चित छ परिवार
सरकारले अपांगता भएकाहरूलाई सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । तर, सुकुमारीदेवीको परिवारका ६ नै जना वयस्क दृष्टिविहीन र अपांगता भएका छन् । श्रीमान् शम्भु, देवर शिवनारायण र नन्द जयकलाले केही वर्षसम्म भत्ता पाएका थिए, त्यो पनि पछिल्लो दुई वर्षदेखि रोकिएको छ ।

सरकारले पूर्ण अपांगता भएकालाई रातो कार्ड र सामान्य अपांगता भएकालाई हरियो कार्ड दिने गरेको छ । महिला तथा बालबालिका कार्यालयकी प्रमुख चन्द्रकला श्रेष्ठले दृष्टिविहीनलाई रातो कार्ड दिने व्यवस्था नरहेको बताइन् । रातो कार्ड नपाउँदा उनीहरू भत्ताबाट वञ्चित भएका हुन् ।