धुवाँले नउडाएको त्यो अनन्त माया

कहिलेकाहीँ जीवनमा यस्ता दिनहरू आउँछन्, जसलाई समयले वर्षहरूमा त टाढा लैजान्छ, तर सम्झनाले एक क्षण पनि पुरानो हुन दिँदैन । मेरो जीवनमा पनि एउटा यस्तो दिन छ—जुन दिन मैले मेरी आमालाई आफ्नै हातले अन्तिम बिदाइ गरेँ। आज त्यस दिनको एक वर्ष बितिसकेको छ । पात्रोका पानाहरू फेरिए, ऋतुहरू बदलिँदै गए, जीवन पनि आफ्नो गतिमा अघि बढ्न खोजिरहेको छ । तर मनको एउटा कुनामा समय भने अझै त्यहीँ रोकिएको छ—पशुपति आर्यघाटको त्यो धुवाँ, त्यो आगो, त्यो मौनता र मेरी आमाको अन्तिम अनुहारसँगै ।

आमा…

हो, म त्यही छोरी हुँ, जसले आजभन्दा ठीक एक वर्षअघि हजुरलाई पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरेर भारी मन, रसाएका आँखा र टुक्रिएको हृदय बोकेर एक्लै घर फर्किएकी थिएँ । त्यो दिन मैले केवल मेरी आमालाई गुमाएकी थिइनँ । मैले मेरो जीवनको सबैभन्दा ठूलो सहारा, निस्वार्थ माया, अथाह आशीर्वाद, अटल विश्वास र मेरो अस्तित्वको आधार गुमाएकी थिएँ ।

त्यो दिन मेरो जीवनको सबैभन्दा पीडादायी दिन थियो। मेरो जीवनको मेरुदण्ड, माया, आशिर्वाद, साहस र प्रेरणाको स्रोतलाई आफ्नै आँखाअघि धुवाँमा विलीन हुँदै गएको हेर्नु मेरो सामर्थ्यभन्दा धेरै ठूलो पीडा थियो ।

आज पनि त्यो दृश्य मेरो आँखामा ताजै छ । चितामाथिको आगो दन्किरहेको थियो, अनि केही क्षणमै हजुर धुवाँ बनेर आकाशमा विलीन हुन थाल्नुभयो । म भने एकोहोरो त्यो धुवाँलाई हेरिरहेँ । मनले बारम्बार सोच्थ्यो ! त्यो धुवाँलाई कुनै भाँडोमा थुन्न सक्ने भए, जीवनभर मेरी आमाको माया सँगालेर राख्न सक्ने थिएँ। तर धुवाँ स्वतन्त्र थियो, उ आकाशतिर उडिरह्यो। हजुर पनि धुवाँसँगै माथि–माथि जानुभयो, म भने त्यहीँ उभिएर मेरा भावना र कल्पनाहरूलाई हावामा हराउँदै गएको महसुस गरिरहेँ। आमा, त्यो दिनको एउटा क्षण आज पनि मेरो मनको काँडाजस्तै गडेर बसेको छ ।

पशुपति आर्यघाटमा हजुरको अन्तिम संस्कारका लागि आवश्यक धार्मिक विधिहरू हुँदै थिए। म भारी मन लिएर हजुएको छेउमा उभिएकी थिएँ। आँखा आँसुले भरिएका थिए, मनले अझै पनि यो यथार्थ स्वीकार्न सकिरहेको थिएन । त्यही बेला त्यहाँका बाहुनले सहज रूपमा एउटा प्रश्न गर्नुभयो—
छोराहरू छैनन्  ।

 

आमाको सम्झना आँसुले मात्र होइन, हजुरले देखाउनुभएको बाटोमा हिँडेर, लाखौँ सहाराविहीन आमाहरूको अनुहारमा मुस्कान ल्याएर जीवित राख्नेछु । हजुरको अन्तिम समय सम्झँदा आज पनि मन भक्कानिन्छ । म अझै बिर्सन सकेकी छैन, अस्पतालको बेडमा पीडासँग संघर्ष गरिरहनुभएको त्यो अनुहार ।

 

जब बाहुनले ती प्रश्नहरू सोध्दै हुनुहुन्थ्यो, मेरो मन एकाएक विगततिर फर्कियो । सानो हुँदा गाउँमा जहाँ भेटे पनि, तेरी आमाको क्रिया गर्ने त म नै हो, तेरो आमाको छोरा छैनु भनेर बारम्बार सुनाउने काकाका ती शब्दहरू फेरि कानमा गुन्जिए। ती वचनहरूले मेरी आमालाई मात्र होइन, मलाई पनि वर्षौंसम्म मानसिक पीडा दिएका थिए । आज आमाको अन्तिम संस्कारका बेला उभिँदा ती सबै क्षणहरू एक एक गरेर आँखाअघि आए । मनमा एउटा प्रश्न पनि उठ्यो—के केवल छोरा नहुँदैमा एउटी आमाको माया, सम्मान र अन्तिम कर्तव्य अधुरो हुन्छरु अन्ततः मैले महसुस गरेँ, सन्तानको कर्तव्य लिङ्गले होइन, माया, जिम्मेवारी र समर्पणले निर्धारण गर्छ।

सायद त्यही कारणले होला, आजसम्म पनि उहाँप्रति मेरो मनमा सकारात्मक भावना जाग्न सकेको छैन। बालमनमा पटक–पटक परेको ती शब्दहरूको घाउ समयसँगै सुक्ला भन्ने सोचेकी थिएँ, तर पूर्ण रूपमा मेटिन सकेन। त्यसैले उहाँलाई मैले सधैं अरूभन्दा फरक दृष्टिले, ती तितो सम्झनासँगै हेर्ने गरेकी छु। घृणा व्यक्त गर्नु मेरो उद्देश्य होइन, तर बाल्यकालमा शब्दहरूले दिएको चोटले सम्बन्धप्रतिको मेरो अनुभूति बदलिदियो। केही शब्दहरू क्षणभरका लागि बोलिन्छन्, तर कसैको मनमा वर्षौंसम्म बाँचिरहन्छन्।

सायद ती सबै पुरुष थिए, त्यसैले छोरीको मन, छोरीको माया र छोरीले बोक्ने जिम्मेवारी कहिल्यै बुझ्न सकेनन्। तर आज मैले आफ्नी आमाप्रतिको कर्तव्य पूरा गर्दै प्रमाणित गरेँ—आमाको लागि छोरी पनि छोरा जत्तिकै होइन, आवश्यक पर्दा त्योभन्दा धेरै बलियो आधार बन्न सक्छ।ू
त्यो उहाँका लागि सामान्य प्रश्न थियो, तर मेरो लागि त्यो क्षण असह्य पीडाले भरिएको थियो ।

म भित्रभित्रै भाँचिइरहेकी थिएँ। मेरो अगाडि मेरी आमाको अन्तिम यात्रा चलिरहेको थियो, र त्यो प्रश्नले मनमा अर्को चोट थपिदियो। एकछिनका लागि लाग्यो, के छोरी भएर आमाप्रतिको माया कम हुन्छ ? के छोरीको आँसु कम पीडादायी हुन्छ ? के आमालाई बिदाइ गर्दा छोरीको हृदय कम ररोएको हुन्छ ?  त्यति बेला मैले जवाफ दिए आज कृपया छोरा छैनु भन्ने कुरा फेरि नउठाइदिनुहोस् । म मेरी आमाकी छोरी हुँ, तर उहाँप्रतिको मेरो माया, जिम्मेवारी र कर्तव्य कुनै छोराभन्दा कम छैन । आज यहाँ म आफ्नी आमाको अन्तिम कर्तव्य पूरा गर्न उभिएकी छु । सन्तानको मूल्य लिङ्गले होइन, उसले निभाउने जिम्मेवारीले निर्धारण गर्छ। त्यसैले आज मलाई छोरी भनेर होइन, आफ्नी आमाप्रति कर्तव्य पूरा गरिरहेको सन्तान भनेर हेर्नुहोस् ।

बाजे, आमाले मलाई छोरी भनेर होइन, आफ्नो सन्तान भनेर हुर्काउनुभएको हो। आज उहाँप्रतिको अन्तिम कर्तव्य पूरा गर्ने अधिकार र जिम्मेवारी पनि मेरै हो। कृपया छोरा छैन भन्ने शब्दले आजको यो पवित्र क्षणलाई सानो नबनाइदिनुहोस् ।

मैले आफ्नो कुरा यति मात्र राखेँ। त्यसपछि बाहुनबाजे केही क्षण मौन रहनुभयो। उहाँले केही प्रतिवाद गर्नुभएन, केही थप प्रश्न पनि गर्नुभएन। चुपचाप आफ्नो धार्मिक विधि अगाडि बढाउनुभयो। त्यो मौनताले मेरो मनमा एउटा सन्देश छोड्यो—कहिलेकाहीँ सत्यलाई ठूलो आवाजले होइन, एउटा इमानदार अभिव्यक्तिले पनि सुनाउन सकिँदो रहेछ। त्यस क्षण मैले कसैलाई हराएको होइन, बरु छोरीको माया, अधिकार र जिम्मेवारीलाई सम्मानपूर्वक स्थापित गरेको महसुस गरेँ।

 

छोरी केवल जन्मदिने घरकी पाहुना होइन, आमाबुबाको सहारा, परिवारको शक्ति र समाज परिवर्तनको संवाहक पनि हो।

 

त्यो मौनताले मेरो लागि एउटा उत्तर दिएको जस्तो लाग्यो—कहिलेकाहीँ सत्य बोलिसकेपछि थप बहस आवश्यक पर्दैन।
त्यो क्षण मैले आँसु लुकाउँदै मनमनै आमासँग भनेकी थिएँ— आमा, आज म छोरी भएर उभिएकी छु, तर हजुरप्रतिको मेरो माया कुनै छोराको मायाभन्दा कम थिएन र छैन । हजुरलाई जन्मदेखि अन्तिम यात्रासम्म सम्मानका साथ साथ दिनु मेरो सौभाग्य पनि हो र कर्तव्य पनि ।

त्यसपछि काँपिरहेका हात र भक्कानिएको मन लिएर मैले हजुरको अन्तिम संस्कारका सबै कर्तव्य पूरा गरेँ । त्यो केवल एउटा धार्मिक संस्कार थिएन, त्यो मेरी आमाप्रतिको अन्तिम प्रेम, सम्मान र जिम्मेवारीको अभिव्यक्ति थियो । आज पनि त्यो प्रश्न सम्झँदा मन दुख्छ, तर त्यससँगै गर्व पनि लाग्छ । किनकि त्यो दिन मैले केवल छोरीको परिचय दिइनँ, आमाप्रतिको प्रेम र जिम्मेवारीको कुनै लिङ्ग हुँदैन भन्ने सत्यलाई आफ्नो जीवनबाट प्रमाणित गर्ने अवसर पाएँ ।

आमा, त्यो दिन पशुपति आर्यघाटमा म एक्लै उभिएकी थिइनँ । हजुरले दिनुभएको साहस, संस्कार र आशीर्वाद मेरो साथमा थियो । त्यसैले आँसु झरे पनि कर्तव्यबाट पछि हटिनँ। छोरी हुनु कमजोरी होइन, आमाबुबाको अन्तिम साससम्म साथ दिने शक्ति, साहस र समर्पणको अर्को नाम हो ।
जीवनभर हजुरको काखमा सुरक्षित महसुस गर्ने म, त्यो दिन आफ्नै हातले हजुरको चितामा दागबत्ती दिनुपर्ने क्षणसँग सामना गरिरहेकी थिएँ। त्यो क्षण मेरो जीवनको सबैभन्दा कठिन, सबैभन्दा पीडादायी र सबैभन्दा असहाय क्षण थियो ।

समाजले प्रायः भन्छ—दागबत्ती छोराले दिन्छ। तर त्यो दिन मैले महसुस गरेँ, आमाको माया छोराछोरी भनेर छुट्टिँदैन, अनि अन्तिम कर्तव्य निभाउने अधिकार र जिम्मेवारी पनि मायाले नै निर्धारण गर्छ । जब काँपिरहेका हातले चितामा आगो लगाएँ, मेरो मनले स्वीकार्न मानेकै थिएन कि अब हजुरको स्वर सुन्न पाउने छैन, हजुरको काखमा टाउको राख्न पाउने छैन। आगो चितामा मात्र दन्किएको थिएन आमा, त्यो आगोसँगै मेरो मनभित्रको एउटा संसार पनि जलिरहेको थियो । चिताको ज्वाला माथि उठ्दै जाँदा मेरो आँखा एकोहोरो त्यतैतिर टाँसिएको थियो। केही समयपछि हजुर धुवाँ बनेर आकाशतिर उड्न थाल्नुभयो। म सोचिरहेँ— आमा, जन्म दिने हातलाई अन्तिम विदाइ दिने हात पनि मेरै किन हुनुपर्‍यो ?

तर त्यही क्षण अर्को सोच मनभित्रबाट आयो— किनकि म केवल हजुरकी छोरी मात्र होइन, हजुरको जिम्मेवारी, हजुरको विश्वास र हजुरको साहस पनि हुँ। छोरी केवल जन्म दिने घरकी पाहुना होइन । आवश्यक पर्दा आमाबुबाको सहारा बन्ने, अन्तिम साससम्म साथ दिने, र अन्तिम यात्रामा दागबत्ती दिएर पनि आफ्नो कर्तव्य निभाउने शक्ति छोरीमा पनि हुन्छ । आमा, त्यो दिन चितामा आगो मैले दिएँ, तर हजुरले मेरो मनमा बाल्नुभएको मानवता, प्रेम र सेवाको दीपक कहिल्यै निभ्ने छैन ।

आमाको सम्झना आँसुले मात्र होइन, हजुरले देखाउनुभएको बाटोमा हिँडेर, लाखौँ सहाराविहीन आमाहरूको अनुहारमा मुस्कान ल्याएर जीवित राख्नेछु । हजुरको अन्तिम समय सम्झँदा आज पनि मन भक्कानिन्छ । म अझै बिर्सन सकेकी छैन, अस्पतालको बेडमा पीडासँग संघर्ष गरिरहनुभएको त्यो अनुहार । आफ्नो शरीरको पीडा सहँदै गर्दा पनि हजुरको चिन्ता आफ्नै लागि थिएन, मेरो लागि थियो । आज पनि कानमा गुन्जिरहन्छ, हजुरले सोध्नुभएको त्यो प्रश्न—
छोरी, घर अब एक्लै कसरी जान्छे ?
त्यो बेला हजुर आफैँ असह्य पीडामा हुनुहुन्थ्यो, साससँग संघर्ष गरिरहनुभएको थियो, तर पनि हजुरको मनमा आफ्नो पीडाभन्दा ठूलो चिन्ता छोरीको भविष्य र एक्लोपनको थियो । म हजुरको छेउमा उभिएकी थिएँ, तर त्यो प्रश्नको उत्तर मसँग थिएन। किनकि मैले कहिल्यै कल्पना गरेकी थिइनँ कि एक दिन साँच्चै हजुरलाई त्यही अस्पतालमा छोडेर, संसारकै सबैभन्दा ठूलो शून्यता बोकेर म एक्लै घर फर्किनुपर्नेछ ।

आज एक वर्षपछि पनि जब त्यो क्षण सम्झन्छु, लाग्छ—हजुरको शरीर बिरामी थियो, तर हजुरको मन अन्तिम क्षणसम्म पनि आमाकै मन थियो। आफ्नो पीडा, आफ्नो मृत्यु, आफ्नो संघर्षभन्दा माथि उठेर छोरीको चिन्ता गर्ने मन। सायद यही त आमा हुनुको अर्थ हो। आमा, त्यो दिन अस्पतालको बेडमा हजुरको आँखामा मैले मृत्युको डरभन्दा बढी छोरीको चिन्ता देखेकी थिएँ। त्यो अनुहार, त्यो प्रश्न र त्यो माया मेरो जीवनको अन्तिम साससम्म मसँग रहनेछ।

आज म घर त आउँछु आमा…

तर त्यो घरमा हजुरको प्रतीक्षा छैन। हजुरको आवाज छैन। हजुरको काख छैन । तर हजुरले दिएको साहस छ, हजुरले सिकाएको जिम्मेवारी छ, र हजुरले अन्तिम क्षणसम्म देखाउनुभएको निस्वार्थ माया छ। जीवनको त्यो रात कहिल्यै बिर्सन सक्दिनँ । अस्पतालको त्यो कोठामा छोरा उदय गहिरो निद्रामा सुतिरहेका थिए । म भने आमाको शिरानमा बसेर उहाँसँग जीवनका कुरा गरिरहेकी थिएँ। हामी आमा–छोरीबीचका ती अन्तिम संवादहरू आज पनि कानमा गुञ्जिरहन्छन्।
केहीबेरपछि आमाले मलाई हेर्दै भन्नुभयो,
आज किन हो, निन्द्रा नै लाग्दैन ।
मैले भनेँ,
मम्मी, अब अलि आँखा चिम्लिनुस् निद्रा आफैँ आउँछ ।
उहाँले भन्नुभयो,
ल म जबर्जस्त भए पनि आखा चिम्लिन्छु , त कुर्सीमै बसेर निदाए
त्यो वाक्य आमाको मसँगको अन्तिम संवाद हुनेछ भन्ने मैले कल्पनासमेत गरेकी थिइनँ।
पाँच मिनेट पनि बितेको थिएन । अचानक उहाँको सास फेरिने लय फेरियो । म आत्तिएँ, उहाँको हात समातेँ, पटक–पटक बोलाएँ—
मम्मी…..मम्मी…..
तर उहाँले फेरि केही बोल्नुभएन ।
मैले  आँखा चिम्लिनुस्  भनेको केही क्षणमै, उहाँले साँच्चै आँखा चिम्लिनुभयो—तर त्यो निद्राका लागि होइन, यो संसारसँगको अन्तिम बिदाइका लागि रहेछ। त्यो क्षणमा अस्पतालको कोठामा म, निदाइरहेको छोरा उदय र आमाको मौनता मात्र बाँकी थियो । समय रोकिएजस्तो भयो । मेरो संसार त्यही क्षणदेखि कहिल्यै पहिलेजस्तो रहेन ।

आमा, त्यो रात मैले तपाईंलाई निदाउन भनेकी थिएँ, तर तपाईं त कहिल्यै नब्यूँझिने यात्रामा निस्किनुभएको रहेछ । त्यसपछि मैले हतारिँदै आमालाई पानी खुवाउने प्रयास गरेँ। उहाँलाई हल्का–हल्का हल्लाएँ, पटक–पटक बोलाएँ— मम्मी….. मम्मी…..
तर उहाँबाट कुनै प्रतिक्रिया आएन। मेरो मन आत्तिइसकेको थियो । म तुरुन्तै छोरा उदयलाई उठाए । उनी गहिरो निद्रामा थिए । सायद अचानक मेरो आवाज सुनेर होला, थरथर काँप्दै उठ्यो । उसको अनुहारमा डर र अन्योल स्पष्ट देखिन्थ्यो ।

मैले आफूलाई जति सक्दो सम्हाल्ने प्रयास गरेँ । एउटा हातले आमाको टाउको समातेँ, अर्को हातले छोरा उदयको ढाड समाउँदै भनेँ,
बाबु, राम्रोसँग बिउँझ,  हजुरआमालाई पानी खुवाऊ । उदय काँपिरहेका हातले हजुरआमाको मुखमा पानी लगाइरहेको थियो। म भने मनभित्रको आँधी लुकाएर अर्को जिम्मेवारी पूरा गर्दै थिएँ । दुई दिनअघि नै मनमा कता कता खै के पो हुने हो भन्ने डर चिन्ता लागेर मैले केही सेतो कपडाका टुक्रा गोजीमा राखेकी थिएँ। त्यही कपडाले आमाका हात र खुट्टाका औँलाहरू बिस्तारै बाँधिदिएँ । त्यो बेला मेरो आफ्नै मन हजारौँ टुक्रामा चकनाचुर भइरहेको थियो। तर मेरो सबैभन्दा ठूलो चिन्ता उदयको थियो । ऊ मभन्दा धेरै कोमल मनको छ । कतै यो दृश्यले उसलाई अझ गहिरो चोट नपुगोस् भन्ने डरले मैले बारम्बार उसलाई भनेँ, ूबाबु, आफूलाई सानो नबनाऊ । हिम्मत गर। हजुरआमाले पनि यही चाहनुहुन्थ्यो । बाहिरबाट म बलियो देखिन खोज्दै थिएँ, तर भित्र भने छोरीको मन आमासँगै चिच्याइरहेको थियो । त्यो रात मैले एउटै क्षणमा छोरीको कर्तव्य पनि निभाएँ, आमाको अन्तिम सेवक पनि बनेँ, र छोराको साहस पनि बनिरहेँ ।

त्यो रातले मलाई सिकायो—कहिलेकाहीँ आँसु रोक्नु पनि एउटा ठूलो जिम्मेवारी हुँदोरहेछ। हजुरले अन्तिम सास फेर्नुभएको त्यो क्षणमा म आफूलाई जति नै बलियो देखाउन खोजे पनि, मेरो मन टुक्राटुक्रा भइसकेको थियो । मैले जिम्मेवारीका कारण आँसु रोकेँ, तर हजुरका प्यारो नाति उदयले त्यो पीडा रोक्न सकेन। उसले रुन खोज्यो, तर घाँटी अवरुद्ध भयो। आवाज निस्केन। आँसु मात्रै बगिरहे । त्यो मौन भक्कानिएको क्षणले अस्पतालभरि शब्दले व्यक्त गर्न नसकिने शून्यता छाएको थियो। त्यस दिन मैले बुझें—कतिपय पीडाहरू कराएर होइन, आवाज नै हराएर व्यक्त हुन्छन्।
आज पनि म घर त जान्छु, तर हरेक पाइला चाल्दा मनले एउटै उत्तर दिन्छ  ।

आमा, म घर त पुगेँ… तर हजुरबिनाको घर कहिल्यै घरजस्तो लागेन । म सम्झन्छु—हात समाएर पहिलो अक्षर सिकाउनुभएको त्यो दिन, निराश हुँदा काखमा समेटेर दिनुभएको त्यो हिम्मत,र बिहान मुस्कुराउँदै भन्नुभएको छोरी, उठ न, अब दिन सुरु हुन्छ । मेरी आमा, हजुर संसारकै सबैभन्दा ममतामयी, धैर्यशील र बलियो हुनुहुन्थ्यो। हजुरको मायाले मेरो जीवन सजायो, हजुरको बोलीले मलाई दिशा दियो, र हजुरको मुस्कानले मलाई संसारकै भाग्यमानी छोरी बनायो ।

हजुरले संसार छोड्नुअघि मलाई एउटा अमूल्य वचन पनि दिनुभएको थियो— ‘म जस्तै लाखौँ दुःखी आमाहरूको प्रेरणाको स्रोत बन्नु, जसका छोराछोरी भएर पनि सहारा छैन, जसका आँखामा प्रतीक्षाका आँसु छन्, जसको बुढ्यौली एक्लोपन र पीडामा बितिरहेको छ। ती आमाहरूको छोरी बन्नु, उनीहरूको दुखमा साथ दिनु र सम्मानका साथ बाँच्न सक्ने वातावरण बनाउन आफ्नो योगदान दिनु ।’ आज हजुरको त्यो वचनलाई जीवनको मार्गदर्शन बनाएर पूरा गर्ने यात्रामा हिँडिरहेकी छु। यो केवल एउटा संकल्प होइन, मेरी आमाको सपना, विश्वास र आशीर्वादलाई कर्ममा रूपान्तरण गर्ने प्रयास हो ।

यस यात्राको पहिलो पाइला मानव सेवा आश्रम, काठमाडौँ बाट सुरु भएको छ। त्यहाँ आश्रय, माया र सम्मानको खोजीमा रहेका धेरै आमा–बुवा तथा असहाय व्यक्तिहरूसँग केही समय बिताउने अवसर पाएँ। उहाँहरूको आँखामा देखिएको पीडा, आशा र मुस्कानले मलाई अझ जिम्मेवार बनाएको छ। त्यहाँ हरेक आमाको अनुहारमा मैले हजुरको झल्को देखेँ, हरेक पीडित मनमा हजुरको माया महसुस गरेँ ।

आज म बुझ्दैछु—आमाको सम्झना केवल तस्वीरमा फूल चढाएर वा आँसु बगाएर मात्र जीवित रहँदैन। आमाले सिकाएका मूल्य, संस्कार र सपनालाई कर्ममा उतार्दा मात्र त्यो सम्झना अमर बन्छ । हाम्रो समाजमा अझै पनि छोरीलाई कमजोर वा पराइ घरको मान्ने सोच बाँकी छ। तर हजुरले मलाई सिकाउनुभएको थियो—ूछोरी केवल जन्मदिने घरकी पाहुना होइन, आमाबुबाको सहारा, परिवारको शक्ति र समाज परिवर्तनको संवाहक पनि हो।ूहजुर भौतिक रूपमा साथमा नभए पनि हजुरका शब्दहरू मेरो हरेक कदमको प्रेरणा बनेका छन्।

म प्रयास गर्नेछु कि कम्तीमा केही आमाहरूको अनुहारमा मुस्कान फर्काउन सकूँ, केही एक्ला मनहरूलाई आफ्नोपनको अनुभूति दिलाउन सकूँ। ‘आमाको सम्झना आँसुले मात्र होइन, लाखौँ सहाराविहीन आमाहरूको आँखामा आशाको किरण बन्न सके मात्र साँचो अर्थमा जीवित रहन्छ।’
हजुर जहाँ हुनुहुन्छ, त्यहीँबाट मेरो यो यात्रालाई आशीर्वाद दिइरहनुहोस् ।

त्यसैले आज म गर्वका साथ भन्छु म हजुरकी छोरी हुँ । हजुरको संस्कार मेरो परिचय हो । हजुरको संघर्ष मेरो प्रेरणा हो। हजुरको माया मेरो शक्ति हो । एक जिम्मेवार छोरीको कर्तव्य केवल आमाको अभावमा रुनु मात्र होइन, आमाले देखाएको बाटोमा हिँड्नु, उहाँका अधुरा सपनाहरूलाई पूरा गर्नु, मानवताको सेवा गर्नु र अरूका आँखामा आशाको किरण बन्नु पनि हो । आमा, हजुर भौतिक रूपमा मेरो साथमा नभए पनि हजुरका बचन, र हजुरको आशीर्वाद मेरो हरेक कदमको प्रेरणा बनेका छन्। हजुरले देखाउनुभएको मानवताको बाटोमा हिँड्ने प्रयास सधैं जारी रहनेछ। आमाको सम्झना आँसुले मात्र होइन, हजुरले सिकाउनुभएका मूल्य, आदर्श र सपनालाई कर्ममा उतारेर जीवित राखिरहनेछु। यदि अर्को जुनी भन्ने केही छ भने, हरेक जुनीमा म हजुरकै छोरी निर्मला भएर जन्मिन पाऊँ। फेरि हजुरकै काखमा हुर्किन पाऊँ, फेरि हजुरकै माया पाउन पाऊँ।

आमा, आजकल कहिलेकाहीँ छोरा नभएका छोरीका आमाबुबाहरू भेटेर भन्नुहुन्छ, निर्मला, तिमीले त हाम्रो मनको डर हटाइदियौ । तिमीले हाम्रो बाटो खोलिदियौ । अब हामीलाई छोरा नभएको अभावले सताउँदैन, किनकि छोरीले पनि आमाबुबाको अन्तिम कर्तव्य सम्मानका साथ निभाउन सक्छे भन्ने विश्वास तिमीले आफ्नो काम बाट देखाइदियौ।  उहाँहरूका यी शब्दहरू सुन्दा मेरो मन भावुक हुन्छ। त्यसबेला लाग्छ, त्यो दिन मैले केवल आफ्नी आमालाई दागबत्ती दिएकी थिइनँ, छोरीमाथि विश्वास गर्ने एउटा नयाँ सोचको दीप पनि बाल्न सकेकी रहेछु। यदि मेरो त्यो साहसले एउटै परिवारको मनबाट पनि ूछोरा नभएको पीडाू कम गर्न सकेको छ भने, त्यसलाई म आफ्नी आमाप्रतिको सच्चा श्रद्धाञ्जली ठान्नेछु।

जीवनका केही यात्राहरू एक्लै सुरु त गर्नुपर्छ, तर एक्लै पूरा गर्न सकिँदैन रहेछ। आज फर्केर हेर्दा लाग्छ—हजुरको आशीर्वाद, भगवानको असीम कृपा, हजुरका प्यारो नाति उदय , छोराछोरी, भतिज–भतिजीहरू, नातिनातिनी, पुनाती पुनातिनी ,आफन्तजन, साथीभाइ र शुभचिन्तकहरूको साथ, माया र हौसलाले नै म त्यो असह्य पीडाका बीच पनि दृढ भएर उभिन सकेँ। हजुरको अन्तिम कर्तव्य पूरा गर्ने कठिन घडीदेखि आज हजुरले दिनुभएको वचनलाई कर्ममा रूपान्तरण गर्ने यात्रासम्म आइपुग्नु मेरो एक्लो प्रयासको परिणाम होइन, मलाई निरन्तर साथ, शक्ति र विश्वास दिने सम्पूर्ण आफन्तहरूको प्रेम र सहयोगको प्रतिफल पनि हो। म भाँचिएर पनि फेरि उठ्न सकेँ। त्यसैले यो यात्रामा, दुःखको घडीमा मेरो हात समातेर हिँड्ने सबै आफन्तहरूको माया, विश्वास र साथको लागि उहाँहरू सबैप्रति म जीवनभर कृतज्ञ रहनेछु।

आज पनि मेरो एउटै आग्रह छ कुनै आमाबुबालाई छोरा छैनु भनेर दुःख नदिनुहोस्। सन्तानको मूल्य छोरा वा छोरीले होइन, उसले आफ्ना आमाबुबाप्रति निभाउने प्रेम, सम्मान र जिम्मेवारीले निर्धारण गर्छ। छोरी पनि अन्तिम साससम्म आमाबुबाको भरपर्दो सहारा बन्न सक्छिन , र आवश्यक पर्दा अन्तिम कर्तव्य पनि पूरा गर्न सक्छिन ।

आमा फेरि हृदयको अन्तस्कणबाट भावपूर्ण श्रद्धाञ्जली !

 यदि स्वर्ग छ भने तपाई जहाँ हुनुहुन्छ, शान्त रहनुहोस् आमा । त्यहीँबाट मलाई आशीर्वाद दिइरहनुहोस् ।
हजुर मेरो जीवनबाट जानुभयो, तर मेरो हृदयबाट कहिल्यै जान सक्नुहुन्न ।