डोल्पामा जीप दुर्घटना : एक जनाको मृत्यु, ११ जना घाइते
डोल्पा । डोल्पाको मौरेलेक क्षेत्रमा आइतबार दिउँसो भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

प्रारम्भिक जानकारीअनुसार डोल्पा सीमाना अन्तर्गत पर्ने मौरेलेकमा गुडिरहेको जीपको स्टेयरिङ अचानक फेल भएपछि सवारी साधन करिब ३० मिटर तल खसेको थियो।
दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिकका एक पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना महिला गम्भीर घाइते भएका छन् भने दुई जना बालबालिकासहित अन्य यात्रुहरू सामान्य घाइते भएका छन्। चालक पनि घाइते भएका छन् ।
घाइते सबैलाई थप उपचारका लागि जुम्ला अस्पताल पठाइएको छ । चालकको उपचारपछि अनुसन्धानका लागि जिल्ला ल्याइने तयारी भइरहेको बताइएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । टोलीले मुचुल्का उठाउने, घटनास्थलको निरीक्षण गर्ने तथा दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।
प्रारम्भिक विवरणअनुसार जीपमा दुई जना बालबालिका सहित कुल १२ जना यात्रु सवार थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

