कर्णालीमा बेपत्ता गाडी खोज्न सोनार क्यामरा र म्याग्नेटसहित विशेष गोताखोर टोली खटियो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा दुर्घटनापछि बेपत्ता भएको गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बलले सोनार क्यामरा र म्याग्नेटसहितको विशेष गोताखोर टोली खटाएको छ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा चार सदस्यीय गोताखोर टोली शनिबार घटनास्थल पुगेर खोजी कार्य सुरु गरेको हो।

सशस्त्र प्रहरीका अनुसार टोलीसँग पानीमुनि डुबेका सवारीसाधन तथा अन्य वस्तु पत्ता लगाउन प्रयोग हुने सोनार क्यामरा, म्याग्नेट लगायतका अत्याधुनिक उपकरण छन्। ती उपकरणको सहायताले कर्णाली नदीभित्र गाडी र बेपत्ता यात्रुको खोजी भइरहेको छ।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी असार १८ गते कर्णाली राजमार्गबाट करिब ६–७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस तथा नं। ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतबाट पनि गोताखोरसहितको उद्धार टोली परिचालन गरिएको थियो।

दुर्घटनाकै दिन घटनास्थलबाट करिब ४ सय मिटर तल भीरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको थियो। प्रहरीका अनुसार हालसम्म चालकसहित पाँच जनाको पहिचान खुलिसकेको छ भने गाडी र अन्य बेपत्ता यात्रुको खोजी कार्य जारी छ। नदीको तीव्र बहाव र धमिलो पानीका कारण उद्धार तथा खोजी अभियान चुनौतीपूर्ण बनेको सशस्त्र प्रहरीले जनाएको छ।