अछाममा चट्याङको कहर, चार जना घाइते

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–८ गनिउलेमा शुक्रबार साँझ परेको चट्याङबाट चार जना घाइते भएका छन्। घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार चट्याङ लागेर जैसरा मिजार, कर्ण मिजार, शेरे मिजार र मना कसेरा मिजार घाइते भएका हुन्। उनीहरूको स्वास्थ्य अवस्था चिकित्सकको निगरानीमा रहेको छ।

घटनामा उनीहरूबाहेक अन्य चार जना पनि सामान्य घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेकाले घरमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार वर्षायामसँगै मेघगर्जन र चट्याङका घटना बढ्दै गएकाले जोखिमयुक्त मौसममा खुला स्थान, अग्ला रुख तथा विद्युत् संरचनाको नजिक नबस्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

वर्षायाम सुरु भएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा चट्याङका घटना बढ्न थालेका छन्। सम्बन्धित निकायले मौसम पूर्वानुमानलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन्।