बिनाहेल्मेट मोटरसाइकल चलाउँदा सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिकको चिट
प्रकासित मिति : २०८३ असार १८, बिहीबार १४:०९
प्रकासित समय : १४:०९
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई हेल्मेट नलगाई मोटरसाइकल चलाएको कसुरमा ट्राफिक प्रहरीले चिट काटेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्स्पेक्टर रेशम आचार्यका अनुसार मुख्यमन्त्री शाहले हेल्मेटबिना मोटरसाइकल चलाएको पुष्टि भएपछि ट्राफिक नियमअनुसार कारबाही गरिएको हो। यस कसुरमा मुख्यमन्त्री शाहले ५०० रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ।
धनगढीस्थित मुख्यमन्त्री निवास परिसरमा शाहले हेल्मेटबिना मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले उनको सचिवालयसँग समन्वय गरी चिट जारी गरेको जनाएको छ।
ट्राफिक प्रहरीले सडक सुरक्षा नियम सबैका लागि समान रूपमा लागू हुने उल्लेख गर्दै पद वा जिम्मेवारी जे भए पनि ट्राफिक नियम उल्लङ्घन गरे कानुनअनुसार कारबाही हुने स्पष्ट पारेको छ।

