उत्तरपुस्तिका हराएको घटनाप्रति अखिल (क्रान्तिकारी) को आपत्ति, तत्काल छानबिन गर्न माग
काठमाडौं । अखिल (क्रान्तिकारी) ले एसईई परीक्षामा उत्तरपुस्तिका हराएको, अंक प्रविष्टिमा त्रुटि भएको तथा परीक्षा व्यवस्थापनमा गम्भीर लापरबाही भएको भन्दै तत्काल छानबिन गर्न माग गरेको छ ।

संगठनका केन्द्रीय अध्यक्ष विरेन्द्र शाहले एक वक्तव्य जारी गर्दै सरकारको परीक्षा व्यवस्थापनप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनले एसईई परीक्षामा देखिएको उत्तरपुस्तिका हराउने, अंक प्रविष्टिमा त्रुटि हुने जस्ता घटनाले राज्य संयन्त्रको लापरबाही स्पष्ट भएको भन्दै तत्काल छानबिन र दोषीमाथि कारबाही आवश्यक रहेको बताएका छन्।
शाहले यस्ता घटनाले विद्यार्थीहरूको भविष्य अन्योलमा पारेको उल्लेख गर्दै परीक्षा प्रणालीलाई पारदर्शी, विश्वसनीय र विद्यार्थीमैत्री बनाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन्। उनले यस्ता कमजोरी पुनः दोहोरिए गम्भीर परिणाम निम्तिन सक्ने चेतावनी समेत दिएका छन्।
संगठनले प्रेस विज्ञप्ति जारी गर्दै एसईई परीक्षामा देखिएको अव्यवस्था, गैरजिम्मेवारी र चरम लापरबाहीप्रति घोर आपत्ति तथा भर्त्सना व्यक्त गरेको छ। गत चैतमा सम्पन्न परीक्षामा सरकारले गरेका अवैज्ञानिक र अपरिपक्व निर्णयका कारण विद्यार्थीहरूको भविष्य प्रभावित हुने गरी गम्भीर त्रुटिहरू भएको आरोप लगाइएको छ।
विज्ञप्ति अनुसार पुनर्योगका लागि आवेदन दिएका विद्यार्थीहरूमध्ये करिब एक हजार जनाका उत्तरपुस्तिका हराएको, कतिपय उत्तरपुस्तिका परीक्षा केन्द्रमै छुटेको तथा अंक प्रविष्टिमा त्रुटि भएको जस्ता घटनाहरू सार्वजनिक भएका छन्। यसले प्रारम्भिक नतिजा प्रक्रिया तथा समग्र परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको संगठनको भनाइ छ।
यस्ता घटनाका कारण पुनर्योगपछि हजारौँ विद्यार्थीको नतिजा परिवर्तन हुनुले मूल्यांकन प्रणालीमाथि थप शंका उत्पन्न भएको उल्लेख गरिएको छ।
संगठनले राज्य संयन्त्रको असफलता र लापरबाहीका कारण विद्यार्थीहरू मानसिक तनाव, अन्याय र असुरक्षाको सिकार भएको दाबी गर्दै तत्काल सुधारको माग गरेको छ।
क्रान्तिकारीले हराएका उत्तरपुस्तिका तत्काल खोजी गरी सम्बन्धित विद्यार्थीहरूको नतिजा सार्वजनिक गर्न, दोषी अधिकारीमाथि निष्पक्ष छानबिन गरी कडा कारबाही गर्न तथा परीक्षा प्रणालीलाई पारदर्शी र विद्यार्थीमैत्री बनाउन माग गरेको छ।
यस्तो छ प्रेस वक्तव्य :


