हिरासत कक्षमै पुगेर धम्की दिएको आरोपपछि सुदन गुरुङ विवादको केन्द्रमा
काठमाडौं । सोह्रखुट्टे हिरासतमा रहेका जेनजी आन्दोलनकारीमाथि हिरासतभित्रै धम्की र दुर्व्यवहार भएको आरोप सार्वजनिक भएको छ । उक्त घटनामा सुदन गुरुङ संलग्न रहेको भन्दै राष्ट्रिय जेनजी नागरिक अभियानले आरोप लगाएको छ ।

अभियानका अनुसार शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेका आन्दोलनकारीहरूलाई भेट्न पुगेका गुरुङले हिरासत कक्षमै प्रवेश गरी धम्की, गालीगलौज तथा अपमानजनक व्यवहार गरेको दाबी गरिएको छ ।
वक्तव्यमा गुरुङले ‘तपाईँहरू कहाँबाट परिचालित हुनुहुन्छ ?’, ‘यो अन्तिम मौका हो’ र ‘अब सरकार र प्रहरीले समाते भने छोड्दैनौँ’ जस्ता अभिव्यक्ति दिएको उल्लेख छ ।
त्यसैगरी, हिरासतमा रहेका व्यक्तिहरूलाई २४ घण्टासम्म पर्याप्त खाना र पिउने पानीसमेत उपलब्ध नगराइएको भन्दै मानवअधिकार उल्लंघन भएको आरोप पनि अभियानले लगाएको छ ।
घटनाबारे हालसम्म प्रहरी प्रशासन वा सम्बन्धित निकायले आधिकारिक पुष्टि गरेको छैन। हिरासतभित्र बाह्य व्यक्तिको प्रवेश र त्यसपछि भएको भनिएको व्यवहारबारे स्पष्ट विवरण नआएकाले घटनाले विभिन्न प्रश्नहरू उठाएको छ ।
जेनजी नागरिक अभियानले घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै सरकारसमक्ष पाँच बुँदे माग राखेको छ । साथै, हिरासतमा रहेका आन्दोलनकारीहरूको सुरक्षा सुनिश्चित गर्न राज्य संयन्त्रलाई जिम्मेवार बन्न आग्रह गरिएको छ ।
यस घटनापछि सामाजिक सञ्जालमा पनि विभिन्न प्रतिक्रिया र बहसहरू देखिएका छन् । आधिकारिक निकायको प्रतिक्रिया भने आउन बाँकी छ ।
यस्तो छ वक्तव्य :


