देशको राष्ट्रिय स्वाधीनता खतरामा छ : लोकनारायण सुवेदी

काठमाडौं । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका सचिवालय सदस्य तथा नेकपाका अध्यक्ष लोकनारायण सुवेदी ले सुकुम्बासी समस्या समाधानसँगै देशको राष्ट्रिय स्वाधीनताको रक्षा पनि प्रमुख एजेन्डा हुनुपर्ने बताउनुभएको छ ।

केन्द्रीय संयुक्त संघर्ष समितिद्वारा काठमाडौंमा आयोजित विरोध कार्यक्रममा धारणा राख्दै उहाँले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सबै देशभक्त, वामपन्थी र प्रगतिशील शक्तिहरू साझा एजेन्डामा एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले सुकुम्बासीमाथि भएको अन्यायविरुद्ध संघर्ष जारी रहने स्पष्ट पार्दै राष्ट्रिय स्वाधीनताको प्रश्न पनि उत्तिकै गम्भीर रहेको बताउनुभयो ।

उहाँका अनुसार एमसीसी र एसपीपीजस्ता सम्झौतामार्फत नेपालको राष्ट्रिय स्वाधीनतामाथि पश्चिमा शक्तिहरूको हस्तक्षेप बढ्दै गएको छ । एमसीसी र एसपीपी चीन घेर्ने रणनीति अन्तर्गत ल्याइएका विषय हुन्, उहाँले भन्नुभयो ।

सुवेदीले यस्ता विषयविरुद्ध संगठित संघर्ष आवश्यक रहेको भन्दै राष्ट्रिय हितको पक्षमा सबै शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।