१२ बुँदे सम्झौता कार्यान्वयनको दबाब बढाउँदै नागरिक बचाउ महाअभियान

काठमाडौं । सरकारसँग भएको १२ बुँदे सम्झौता कार्यान्वयनको माग गर्दै ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’ ले देशव्यापी दबाब कार्यक्रम सुरु गरेको छ ।

महाअभियानले विभिन्न जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेको हो । यसैक्रममा अभियानका नेता माधब कल्पितको नेतृत्वमा गएको टोलीले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको जनाएको छ ।

ज्ञापनपत्रमा सरकार र महाअभियानबीच भएको १२ बुँदे सहमति हालसम्म कार्यान्वयन नभएको भन्दै तत्काल प्रक्रिया अघि बढाउन माग गरिएको छ । अभियानले सहमति कागजमा मात्र सीमित भएको आरोप लगाउँदै सरकार सम्झौताप्रति गम्भीर नभएको जनाएको छ ।

महाअभियानले आगामी जेठ १० गते प्रधानमन्त्रीलाई प्रत्यक्ष भेटेर ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । उक्त भेटलाई अभियानले ‘अन्तिम चेतावनी’ का रूपमा प्रस्तुत गरेको छ ।

अभियानका अनुसार १२ बुँदे सहमतिमा बैंक तथा वित्तीय संस्थाको ऋण ब्याजमा सहुलियत, लघुवित्त तथा सहकारी पीडितका समस्या समाधान, बचतकर्ताको रकम फिर्ता र नागरिकका मौलिक हकको संरक्षण लगायतका विषय समेटिएका छन् ।

माग सम्बोधन नभए देशव्यापी रूपमा सशक्त आन्दोलनमा उत्रने चेतावनी महाअभियानले दिएको छ ।