बीपी राजमार्गको खुर्कोट–भकुण्डेबेंसी खण्डमा राति सवारी आवागमनमा रोक
धुलिखेल — जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक ले बीपी राजमार्ग अन्तर्गत खुर्कोट–भकुण्डेबेंसी सडक खण्डमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रोक लगाएको छ।

प्रशासनले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेको हो। उक्त निर्णय आजैदेखि लागू हुने र अर्को सूचना जारी नभएसम्म कायम रहने जनाइएको छ।
प्रशासनका अनुसार २०८१ असोजमा रोशी खोला मा आएको बाढीले सडकमा क्षति पुर्याएको थियो। हाल उक्त खण्ड निर्माण तथा स्तरोन्नतिका क्रममा रहेको र सामान्य वर्षामा समेत सडक अवरुद्ध हुने अवस्था रहेकाले नागरिक सुरक्षालाई ध्यानमा राखी रात्रिकालीन आवागमनमा रोक लगाइएको हो।
यसैबीच वैशाख २२ गते रोशी गाउँपालिका–७ क्षेत्रमा आएको बाढीका कारण सवारी साधन र यात्रुहरू बीचमै अलपत्र परेका थिए। रातिको समयमा उद्धार कार्य कठिन हुने तथा ज्यानकै जोखिम बढ्ने भएकाले जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।
काभ्रेपलाञ्चोक र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीबीचको समन्वय तथा जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो।
प्रशासनले आवश्यक परे अन्य समयमा पनि मौसम र सडकको अवस्थाअनुसार आवागमन अस्थायी रूपमा रोक्न सकिने जनाएको छ।
सडक प्रयोग गर्ने सर्वसाधारणलाई यात्रा अघि सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न अनुरोध गरिएको छ। जानकारीका लागि इलाका प्रहरी कार्यालय मंगलटार, प्रहरी चौकी भकुण्डेबेंसी, प्रहरी चौकी कटुञ्जेबेंसी तथा जिल्ला प्रहरी कार्यालय काभ्रेका सम्पर्क नम्बरहरू उपलब्ध गराइएको छ।

