सशस्त्र प्रहरीको नेतृत्वमा परिवर्तन: नारायणदत्त पौडेल १३औँ आईजीपी नियुक्त
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल को नेतृत्वमा परिवर्तन भएको छ। सरकारले नारायणदत्त पौडेल लाई १३औँ महानिरीक्षक (आईजीपी) मा नियुक्त गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका पौडेललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो। उनी हालका आईजीपी राजु अर्याल को स्थानमा नियुक्त भएका हुन्। अर्यालले वैशाख १८ गतेबाट चार वर्षे कार्यकाल पूरा गरी अवकाश पाउँदै छन्।
नवनियुक्त आईजीपी पौडेलले अब २२ महिना सशस्त्र प्रहरीको कमाण्ड सम्हाल्नेछन्। विद्यमान नियमअनुसार ३० वर्षे सेवा अवधिका कारण उनी १८ चैत २०८४ मा अनिवार्य अवकाशमा जानेछन्।
आईजीपी नियुक्तिका लागि एआईजीहरू बंशी दाहाल र गणेश थापा मगर समेत प्रतिस्पर्धामा थिए। तर, सरकारले वरीयताका आधारमा अग्रस्थानमा रहेका पौडेललाई चयन गरेको हो।
२०५४ चैत १८ गते नेपाल प्रहरीमा इन्स्पेक्टरबाट सेवा सुरु गरेका पौडेल सशस्त्र प्रहरी बल गठनपछि २०५८ वैशाख ४ गते उक्त संगठनमा स्थानान्तरण भएका थिए। उनले त्यसपछि डीएसपी, एसपी, एसएसपी, डीआईजी हुँदै २०७९ जेठ ६ गते एआईजीमा बढुवा पाएका थिए।
पौडेलले आफ्नो सेवाकालमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुका साथै सुप्रबल जनसेवा श्री, प्रबल जनसेवा श्री चौथो, गोरखा दक्षिण बाहु चौथो, प्रदेश सेवा पदक तथा संयुक्त राष्ट्रसंघ पदक (लाइबेरिया र कोसोभो) सहितका सम्मान प्राप्त गरेका छन्।
नयाँ नेतृत्वसँगै सशस्त्र प्रहरी बलमा सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा आन्तरिक सुरक्षा समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

