कर्णाली पुलमा फसेकामध्य ११ वटाको जीवितै उद्धार, दुईको मृत्यु

काठमाडौ । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएर फसेका १४ वटा खच्चडमध्ये २ वटा मरेका छन् ।

अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीमाथि झोलुंगे पुलको एकातर्फको लठ्ठा चुँडिदा सामान बोकेर आइरहेका १४ वटा खच्चड फसेका थिए । जसमध्ये एउटा पुलमा फसेकै अवस्थामा मरेको हो । अर्को भने जाली काटेर नदीमा झारेपछि मरेको छ ।

दैलेखको आठबीस नगरपालिका ६ का वडाअध्यक्ष नवराज शर्माका अनुसार पुलमा फसेका १४ मध्ये ११ वटा खच्चडलाई निकालिएको छ ।

पञ्चदेवल नगरपालिका र दैलेखको आठबीस नगरपालिका जोड्ने पुलको एकातर्फको लठ्ठा चुँडिदा खच्चड तारमा अड्किएकाले उद्धार भइरहेको दैलेख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल दाहालले बताए ।

अहिले पुलबाट केहीलाई नदीमा खसालेर उद्धार गरिएको छ भने केहीलाई लठ्ठाबाट डोरीले तानेर निकालिएको वडाअध्यक्ष शर्माले जानकारी दिए ।

लठ्ठा चुँडिएर पुल लच्किँदा अछाम र दैलेखबीच आवतजावत बन्द भएको छ ।