माओवादी उपाध्यक्ष महरा हाजिरी जमानीमा रिहा

काठमाडौँ, पूर्वसभामुख कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको सहमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई हाजिर जमानी छाड्ने निर्णय गरेको हो ।

 

इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरेको थियो । सीआईबीका अनुसन्धान अधिकृतहरूले दुई दिन लगातार महराको बयान लिए । स्वास्थ्य समस्याका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरूले बुधवार र बिहीबार माइतीघर स्थित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा ल्याएर बयान गराएका हुन् । महरा ८ प्रकारका औषधी सेवन गर्छन् । उनको घाँटीको टीबी र मस्तिष्कको नशामा समस्या छ ।

२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान अधिकृतहरूले उनलाई प्रश्न गरेका छन् । सुनको अवैध पैठारी (तस्करी)नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनस् मुद्धा चलाउन सिफारिस गरेको थियो । आयोगको प्रतिवेदनको आधारमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष समेत रहेका महरालाई अनुसन्धान गरेर पूरक प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिने बताइएको छ । 

भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई संगठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।