प्रहरीले यसकारण समात्यो दुर्गा प्रसाईंका बडी गार्डलाई

काठमाडौँ । नेपाल प्रहरीले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित दुर्गा प्रसाईंका बडी गार्डलाई पक्राउ गरेको छ । प्रहरीले झापा बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्कालाई हतियार सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । खड्का मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईका निजी सुरक्षाकर्मी (बडी गार्ड) रहेको पाइएको छ ।

अत्याधुनिक हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले उनलाई नियन्त्रणमा लिएका हुन् । प्रहरीले उनको साथबाट जीएसजी– ५ लेखिएको हतियार, ४ वटा म्यागजिन, १०० राउन्ड गोली बरामद गरेको छ । तर हतियारको लाइसेन्सवाला कागजात समेत बरामद भएकाले यसबारे सामान्य सोधपुछ गरिने बताइएको छ ।