जनतालाई सरकार भएको अनुभूति हुने गरी काम गरिहेको छौँ : उपाध्यक्ष शाही

जनताका नाममा सपथ लिएकी छु गलत प्रवृतिलाई स्वीकार्दिनँ

जाजरकोटको सदरमुकाम खलंगादेखि दूरी र भौगालिक विकट रहेको स्थानीय तह हो शिवालय गाउँपालिका । शिवालय गाउँपालिका जाजरकोट जिल्लाको पश्चिम भागमा रहेको गाउँपालिका हो । नेपालको संघिय शासन प्रणाली अन्तर्गत राज्य पुनरसंरचनामा स्थानीय तहको नयाँ सिमांकन गर्दा यो गाउँपालिका साविकका ३ वटा गाविसहरु सिमा, थालारैकर र जुंगाथापाचौर गाविसहरु मिलेर स्थापना भएको छ । स्थानीय जीवनशैली, परम्परागत संस्कृति, प्राकृतिक स्रोत(साधन, पर्यटनको प्रचुर संभावना, जल तथा काठजन्य वन क्षेत्रको पर्याप्तता शिवालय गाउँपालिकाको प्रमुख विशेषता हो । यो गाउँपालिकाको जिल्लाको कुल क्षेत्रफल २२२३.३५ वर्ग किलोमिटर मध्य १३४.२६ अर्थात १२५ भु भाग ओगटेको छ । गाउँपालिकाको पुर्वमा जाजरकोट जिल्लाको छेडागाड नगरपालिका र दैलेख जिल्लाको भगवतीमाइ गाउँपालिका पर्दछ भने दक्षिण तर्फ सल्यान जिल्ला र सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका पर्दछ । यो गाउँपालिकाको तिन तर्फको सिमानामा फरक फरक ३ जिल्लाहरु रहेका छन। दोमट र रातो माटो प्रशस्त भएको यो गाउँपालिकामा चिसो लेकदेखि वेसीसम्म पर्दछ ।

गठबन्धनबाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष उम्मेदवार विजयी भएका यो पालिकाको पछिल्लो अवस्था कस्तो छ ? गाउँपालिकामा स्थानीय सरकार बनेयता के कस्तो प्रगति भयो ? गाउँपालिकाको प्राथमिकता के छ ? लगायतका बिभिन्न विषयमा देशकै कान्छी उपाध्यक्षकी रुपमा रहेकी गीता शाहीसंग हाम्रा सहकर्मी राजेश कुमालले गरेको कुराकानी ।

कार्यक्रममा स्वागत छ

धन्यवाद । यहाँको मिडियलाई पालिकामा स्वागत छ ।

१.गाउँपालिकाका कामहरु कसरी अगाडी बढिरहेका छन ? मतलब अहिले के गरिरहनु भएको छ ?

पालिकाका कामहरु निरन्तर कार्य सम्पादनमा छन । जनताको लागि अहोरात्र खटिरहेका छौँ । जनपक्षीय काम गर्न अहिले मात्र हून हिजोका दिनदेखि नै दिनरात खटिरहेका थियौं र छौ । पालिकाको काम कारवाहि गतिशील तरिकाले अगाडि बढिरहेको मेरो बुझाई छ । भुकम्पबाट प्रभावित भएको जिल्ला र त्यसबाट अछुत हाम्रो पालिका पनि नभएकोले हामी कसरी पुर्न निमार्ण गर्न सकिन्छ भन्नेमा लागि परेका छौँ । जनताको अवस्था बदल्ने अभियानमा छौँ । जनतालाई सरकार भएको अनुभूति हुने गरी काम गरिहेको छौँ,योजनाहरु अनुगमन, भुकम्प प्रभावित समुदायमा जनताको अवस्था बुझन र टहरा निर्माणको कार्यमा ब्यस्त छौँ ।

२.विकासे योजनाहरुमा सोचे जस्तो परिणाम आएन भन्ने जनगुनासो यत्रतत्र छ नी ?

बिकासे योजनाहरुमा सोचे जस्तो परिणाम आएन भनेर जन गुनासो आउनु स्वभाबिक हो । किन भने जादु छु मन्तरको तरिकाबाट काम हुने संभावना पनि हुदैन । जनताका इच्छा आँकाक्षाहरु तमाम छन ति सबै पुरा हुन्छन भन्ने छैन । हामी निरन्तर परिणाम निकाल्न अहोरात्र खटिरहेका छौँ कहि कतै भने अनुसार नहुन पनि सक्छ तर हामीले हाम्रो तर्फबाट सत प्रतिशत काम गरेका छौं । अझै गर्नेछौँ । सबै सन्तुष्ट भएपछि त बिकास पनि कसरी हुन्छ हैन र त्यसैले केही योजनाको सोचे जस्तो परिणाम कहिँ कतै मिस्टेक भयो होला म स्वीकार गर्छु तर एक वर्षको अवधिमा केही बिकास योजनाहरुको रिजल्ट सोचेभन्दा पनि उच्च आएको मेरो बुझाई छ ।

३.नीति तथा कार्यक्रम र बजेट ल्याउँदा निकै आशा लाग्दा, तर कार्यान्वयनको पाटो सधैं फितलो किन हुन्छ ?

निति तथा कार्यक्रम र बजेट जहिले प्रगतिशील र जनपक्षीय हुन्छन। किन भने जनताको आस लाग्दो र भरपर्दो निकाय भनेकै स्थानीय सरकार हो। त्यसैले सबै निति तथा कार्यक्रम र बजेट जनहितमै हुन्छन र हुनुपर्ने हुन्छ बाकी रहयो कार्यान्वयन , कार्यान्वयनको पाटो फितलो नै त भन्न मिल्दैन तर सोचे जस्तो र भनेको समय अनुसार अगाडि नबढन सकेको भने पक्कै छ किन भने काम गर्ने प्रक्रियामा ढिलाई र कतिपय अन्य तत्त्वकै कारण कहिलेकाहिँ फितलो हुन सक्ला र भयो होला अब हामी फरक ढंगबाट दृढताका साथ अगाडि बढने निधो गरेका छौं ।

४. तपाईले स्थानिय तहको निर्वाचन अगाडि जारि गर्नुभएको घोषणापत्र अनुसार के कति काम गर्नुभयो ?

मैले स्थानीय तहको निर्वाचन अगाडि जारी गरेका घोषणापत्र अनुसार बुदागत रूपमा क्रमशः काम गर्न नसकेको होला ।तर काम भन्ने निरन्तर अगाडि बढाई राखन व्यापक पहल कदमी अगाडि बढाएकी छु। र घोषणापत्र बाहेकका जनताका अति आवस्यक काम पनि अगाडि बढाएका छौं ।

५.तिन तहका सरकारविच तालमेल मिलेन भन्ने छ नि, के समन्वय नपुगेको हो ?

संघ प्रदेश र स्थानीय सरकार बीच समन्वय गर्ने कतिपय त्यस्ता बिषय हुन्छ्न जो अनिवार्य रूपमा समन्वय गर्नै पर्ने हुन्छ त्यस्ता बिषयमा हाम्रो पालिका पनि अनिवार्य रूपमा सहकार्य गर्दछ र कुनै कुनै बिषय त्यस्ता हुन्छन जो पालिकाले अन्य तहका सरकार संग समन्वय नगर्दा पनि हुने त्यसैले तीन सरकार बिच तालमेल मिलेन भनेर भ्रम छर्नु खासै उपयुक्त हो जस्तो लाग्दैन मलाई१ हाम्रो समन्वय हुन्थ्यो हुन्छ र हुनेछ ।

६.तपाईं देशकै कान्छी उपाध्यक्ष तपाईं जस्तै भविष्य खोजिरहेका युवाहरूका लागि कस्ता कार्यक्रमको तयारीमा हुनुहुन्छ ?

म कलिलै उमेरमा समाजसेवा गर्नुपर्छ भनेर उर्लिए र देशकै कान्छी उपाध्यक्ष पनि भन्छन। मैले मेरो उमेर समुहका युवा पुस्ताका लागि केही गर्नु छ । र युवा पुस्ता का लागि केही त्यस्ता महत्त्वपूर्ण कार्यक्रम पनि ल्याउने प्रबन्ध मिलाएको छु। सर्वप्रथम त आत्म निर्भर हुने सिपमुलक तालिम पालिका स्तर देखि नै दिने लगाएतका कार्यक्रम छन सबै भन्नू भन्दा पनि काम भैसके पछी देखिन्छ१ जस्तो लाग्छ ।

७. यो उमेरमा उपाध्यक्ष हुनुभयो स्थानीय तहले पाएको अधिकारलाई उपयोग गर्दै नागरिकलाई सेवा दिन कत्तिको सफल हुनुभयो ?

यो उमेर भएकै कारण स्थानीय तहले पाएको अधिकारलाई उपयोग गर्नु पर्छ जस्तो लाग्दैन मलाई म एउटा सिङ्गो पालिकाको जनप्रतिनिधि हु सोही आधारमा मैले आफ्नो दायित्व पुरा गर्नु पर्ने हुन्छ । रहयो कुरा नागरिकलाई सेवा दिन कतिको सफल भए भनेर त्यो मलाई भन्दा पनि बढी नागरिकलाई नै थाहा हुने बिषय होईन र ?

८.जनप्रतिनिधि र कर्मचारी विच तालेमेल नमिलेर विकासमा अवरोध भएको समाचार पनि वेलावेला सुनेका छौँ, यसमा तपाईको पालिकाको अवस्था के हो ?

तपाईंको प्रश्न्न अति संबेदनशिल र गहिरो छ ।जनप्रतिनिधि र कर्मचारी बीच तालमेल र एक अर्काप्रति व्यबहार नमिलेर नै कतिपय काम ठप्प हुन्छन भने कतिपय बिबादित बन्छन त्यो प्रायः हाम्रो देशका अधिकाङस स्थानीय तहमा यस्तै र यहीँ अवस्था छ र उक्त अवस्था बाट हाम्रो पालिका पनि अछुत रहेन । जनताको काम गर्ने जतिको दायित्व जनप्रतिनिधिको हुन्छ त्यतिकै कर्मचारीतन्त्रको पनि कर्तव्य हुन्छ । त्यसैले हाम्रो पालीकाको अवस्था समग्र मा भन्नू पर्दा प्रश्न्नमा भने जस्तै जस्तै छ भन्दा फरक नपर्ला ।

९. धेरै स्थानीय तहमा अझै पनि कानुनहरू नबनेको अवस्था छ। तपाइको पालिकामा कानुन र कार्यविधि निर्माणका कुराहरू के के भइरहेका छन् ?

९.अन्य स्थानीय तहको सन्दर्भमा के छ थाहा भएन तर हाम्रो स्थानीय तहमा कानुन निर्माण प्रक्रियाको कुरा गर्दा एन ८ वटा र नियमावली बार वा तेह्र वटा र कार्यबिधी लगभग बाईस तेईस सम्म निर्माण भएको अनुमान छ। बाँकी आवश्यकता अनुसार कानुन निर्माण हुदैछन र निर्माण भएका कानुन का कार्यबिधी पनि बन्दै छन।

१०. अध्यक्ष र उपाध्यक्ष बिचको अन्तरबिरोधले पालिकाका बिकासे योजनामा घाटा लागेको भन्ने छ के हो ?

अध्यक्ष र उपाध्यक्ष बिचको विवाद भन्दा पनि मैले युवा पुस्ताको नेतृत्व गरिरहेकी छु सहिलाई सहि र गलतलाई गलत छातीमा हात राखेर भन्ने हिम्मत राख्छु । किनकि मैले देश र जनताका नाममा सपथ लिएकी छु। त्यसैले म गलतलाई स्वीकार्दिन। हिजो पनि आवाज उठाए आज पनि परि आए आवाज उठाईन्छ कुरा त्यहीँ हो ब्यक्तिको बिरोधि होईन म गलत र एकलौटी प्रवृत्तिको बिरोधि हु यति हुँदा बिबाद भएको मानिन्छ भने मानियोस मेरो भन्नू केही छैन बाकी रहयो कुरा बिकास योजनामा घाटा लाग्यो भन्ने केही हदसम्म सहि हो पुरै भने सहि होईन ।

११. योजना अनुगमन ब्यवस्थित भएन भन्ने छ  के हो ?

यो बिषयमा म धेरै केही बोलिन किन भने बिगत केही समय यता मैले व्यबस्थित ढंगबाट योजनाहरुलाई प्रत्यक्ष अनुगमन गरेको यहाँहरुलाई अबगत नै छ । काम गर्दै जाँदा अनुगमनमा कमि आएको महशुस हुनसक्छ यसमा

१२.पालिकामा कमिसन बिना कुनैपनि योजना स्वीकृत हुदैनन् भन्ने छ के हो ?

कमिसन पालिकामा मात्र नभएर देश नै कमिसनले चलेको त होइन कतै जस्तो लाग्छ । यो गलत प्रबृत्तिबाट हाम्रो पालिका पनि अछुत छैन भन्ने मेरो ठम्याइ रहेको छ । पालिकामा कर्मचारीतन्त्र हाबि छ । प्रत्यक्ष देखेको त छैन सुन्नमा आएको गुनाँसो सबत्र छ । मैले निगरानी गरिरहेको छु । यसलाई कुप्रथा नै बनाई सकको जनताले गुनासो गनुहुन्छ । प्रमाण बिना कसलाई के भन्नु ? म यो कुप्रथाको विरुद्धमा छु । अब मेरो कार्यकालमा साहासिक कदम उठाउने निधो गरेकी छु । बाँकी काम बाटै थाहा होला अहिलेलाई यत्ति भनेँ धेरै केही भनिन ।

१३. अब तपाईंको कार्यकालसम्मा के के गर्ने योजना छ ?

मेरो कार्यकालमा ठ्याक्कै यो यो गर्छु भनेका काम नहोलान अथवा भन्न खोजेको सत प्रतिसत काम नहोलान तर पचतर प्रतिशत काम भने पक्कै गर्छु। जस्तै युवा तथा खेलप्रेमिको माग रंगशाला बनाउने भन्ने छ त्यसको लागि मैले पहल कदम अगाडि बढाउदै छु। अनि महिला सशक्तीकरणका कार्यक्रम , कानुनी सचेतना कार्यक्रम लगाएत तमाम बिषय बाँकी नै छन मैले सम्बोधन गर्ने त्यसैले यति नै गर्छु भन्नू भन्दा पनि जनताको सुख दुखमा हरदम साथमै हुनेछु। अति आवश्यक कामलाई निरन्तरता दिनेछु। र केहि नव आगन्तुक कार्यक्रम पनि गर्ने सोचिरहेकी छु। शिवालय बासिको साथसपोर्ट रहुनजेल जनपक्षीय काम गर्ने अटोट लिएकी छु।

१४. अन्तमा केही भन्नु छ ?

सपनाको आकार हुँदैन भने जस्तै मैले गाउँ समाजको लागि केही गर्छु भनेर रहर इच्छा र आफ्ना खुसीलाई तिलान्जली दिएर सेवामा समर्पित भएकी छु । मैले के गरे र के गर्न सक्छु त्यो त मलाई बिस्वास गर्ने मतदाताहरुले नै जज गर्नुभएको छ होला । म मा केही नयाँ जोस जागर र मिसन,भिजन भएरै यो कलिलो उमेरमा न्यायीक निर्णय गर्नु भएको होला जस्तो लाग्छ ।

मैले सकारात्मक ढंगबाट समानताको आधारमा जनताको काम गरेको महसुस गरेकि छु । अझै पनि मेरा हरेक क्षण जनताको सेवामा नै बिताउन पाउ म अहोरात्र जनताको सेवामा खटिने छु । सत्य निष्पक्ष र न्यायलाई आत्मसात गर्दै अगाडि बढने प्रयास गर्नेछु। म एक्लै सफल हुन सक्दिन मलाई सफल बनाउन सम्पुर्ण शिवालयबासीको ठुलो भुमिका रहने छ। र यदि स्वयम् उपाध्यक्षले गर्नै पर्ने काम मबाट भएका छैन्न भने पनि मलाई सल्लाह सुझाव दिन सक्नुहुन्छ। अन्त्यमा यहाँको लोकप्रिय मिडियालाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।