भूकम्पले उजाड जाजरकोटका यी गाउँबस्ती

सुनसान रातको त्यो कोलाहल

“कात्तिक १७ गतेको सुनसान मध्य रात मस्त निन्द्रामा थिए जाजरकोट बासीहरु एकाएक धर्ति हल्लियो कोलाहल मच्चियो । रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पले सयौँ गाउँ बस्ती एकैछिनमा उजाड बनाइदियो ।

बस्ती पूर्ण रूपमा ध्वस्त भए, जहाँ पातलो त्यहि छिर पर्छ भने जस्तै जाजरकोटबासीका सबै सपना एकैछिनमा उडायो । भग्नाविशेषमा परिणत भए संरचनाहरु जायजेथा सबै पुरिए ।

जाजरकोटको अधिकाँश बस्ती भूकम्पका कारण पूर्ण रूपमा ध्वस्त भए । भूकम्पले कर्णालीका जाजरकोट,रुकुम पश्चिम, सल्यानमा असर पुर्‍यायो ।

भूकम्पको झड्काले जाजरकोट र रुकुमपश्चिमका पालिकाहरूमा बढ्ता क्षति पुर्‍याएको भए पनि यसको तरंग फराकिलो छ। कम्पन लगत्तैको खोजी र उद्धारमा सक्रिय देखिएको राज्य संयन्त्र भूकम्प पीडितका लागि तत्काल अत्यावश्यक गाँस, वास र कपासको व्यवस्थापनमा भने नराम्ररी चुकेको छ। भूकम्पका कारण बासविहीन भएकामध्ये दर्जनभन्दा नागरिकको बढीको ज्यान चिसोका कारण गइसकेको छ। 

भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले कहिले अस्थायी आवास निर्माणका लागि रकम पाउँछन् भन्ने अन्योल कायमै छ । सरकारले अस्थायी आवास निर्माणबारे अहिलेसम्म कुनै तदारुकता नदेखाएको पीडितको गुनासो छ ।

जाजरकोट भूकम्पको तीन सातासम्म पनि आपत्कालीन अवस्थामा अस्थायी आवासको प्रबन्ध कसले र कसरी गर्ने भन्नेमा गम्भीर विमर्श भएको छैन। यस कार्यमा आवश्यक नीतिगत व्यवस्था गर्न र सरकारलाई उत्तरदायी बनाउन प्रदेशसभादेखि संघीय संसद्सम्मको भूमिका निस्प्रभावी छ। सरकार र संसद्लाई प्रभावकारी बनाउनुपर्ने राजनीतिक दलहरू भने स्वयंसेवी भावनाका साथ भूकम्प प्रभावित क्षेत्रमा कार्यकर्ता परिचालनमा व्यस्त छन्।

त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ । भूकम्पबाट घरबासविहीन भएका सर्वसाधारण मौसम अनूकुल नहुँदा बिरामी पर्न थालेका छन् । अहिले यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको भीड नै लागेको छ ।

भूकम्पबाट एक लाख २८ हजार नौ सय १७ जना प्रभावित भएको पाइएको छ । भूकम्पपछि प्रभावित जोखिम जनसङ्ख्या २२ हजार दुई सय छ रहेको छ । पाँच वर्षमुनिका १२ हजार चार सय चार बालबालिका प्रभावित भएका छन् । एक हजार आठ सय ८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन् । त्यसैगरी एक हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा खुला आकाशमा बस्न बाध्य छन् । एक हजार आठ सय ३२ दीर्घरोगी, आठ सय ५० जना अपाङ्गता भएका व्यक्ति पनि समस्यमा छन् । पूर्णरूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने आंशिक ५५ वटामा क्षति भएको छ ।