जाजरकोटका सरकारी कार्यालयहरूमा कडा सुरक्षा
डिभिजन वन कार्यालय जाजरकोटका प्रमुखमाथि कार्यकक्षमै अज्ञात समूहले आक्रमण गरेपछि जिल्लाभरका सरकारी कार्यालयमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

आर्थिक वर्षको अन्तिमतिर कार्यालयहरूमा चाप बढेका वेला कर्मचारीले असुरक्षित महसुस गरिरहेको बताएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा सरकारी कार्यालयहरूमा प्रहरी गस्ती र सुरक्षा सशक्त बनाइएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए।
‘जिल्लाका विभिन्न कार्यालय प्रमुखहरूबाट सुरक्षा माग भएपछि हामीले गम्भीरतापूर्वक प्रहरी परिचालन गरेका हौँ,’ प्रमुख जिल्ला अधिकारी मंग्रातीले भने, ‘कामकाजमा अवरोध, धम्की र आक्रमण हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर कदम चालिएको हो।’
वन प्रमुखमाथिको आक्रमणप्रति जिल्ला प्रशासन कार्यालयमा विभिन्न निजामती कर्मचारी संगठनले ध्यानाकर्षण पत्र बुझाएका छन्।
प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको पत्रमा राष्ट्रसेवक कर्मचारीमाथिको अराजक र घृणित व्यवहारप्रति गम्भीर आपत्ति प्रकट गरिएको छ।
‘डिभिजनल वन अधिकृतमाथि कार्यकक्षमै भएको हमला हामी सम्पूर्ण पेसाकर्मीहरूको आत्मसम्मानमाथिको आक्रमण हो,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ, ‘राज्यले यस्तो घटनाप्रति तुरुन्त गम्भीर चासो देखाई सुरक्षाको ठोस प्रबन्ध गर्नुपर्छ।’
वनकर्मीहरूले जारी गरेको विज्ञप्तिमा यो आक्रमणले वन पेसाकर्मीहरूलाई हतोत्साहित तुल्याएको भन्दै घटनामा संलग्न व्यक्तिहरूलाई अविलम्ब पक्राउ गरी हदैसम्मको कानुनी कारबाही गर्न माग गरिएको छ। ‘हामी दिनरात राज्यको सम्पत्तिको रक्षामा खटिएका छौँ, तर आफ्नै कार्यस्थलमै असुरक्षित महसुस गर्नु अत्यन्त दुःखद अवस्था हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले अब ढिलासुस्ती नगरी स्पष्ट सुरक्षा नीति ल्याउनुपर्छ।’
घटनापछि डिभिजन वन कार्यालयको सेवा प्रभावित भएको छ। जिल्लाका अन्य सरकारी कार्यालयमा समेत सावधानी अपनाउँदै कामकाज भइरहेको छ।

