शिक्षकहरु माथि गरिएको प्रहरी दमनको भर्त्सना

शिक्षक र कर्मचारीका मागहरुमा ऐक्यबद्धता

काठमाडौं, बुधबार काठमाडौंको बानेश्वरमा शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षक तथा कर्मचारीहरु माथि प्रहरीले गरेको दमनको अखिल (क्रान्तिकारी) ले भर्त्सना गरेको छ ।

संगठनका केन्द्रीय संयोजक मिलन राईले बिहिवार एक प्रेस वक्तव्य जारी गर्दैं शिक्षक तथा कर्मचारीहरु माथि प्रहरीले दमन गरि निर्घात कुटपिट गर्दा थुप्रै आन्दोलनकारी शिक्षकहरू घाइते हुनुका साथै खुट्टा समेत भाँचिएको घटनाले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

साथै उनले सरकारले आन्दोलन माथि गरेको उक्त दमनको हाम्रो संगठन घोर भर्त्सना र कडा आलोचना समेत गरेका छन् ।

संयोजक राईद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८० असोज १० गते काठमाडौंको बानेश्वरमा शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षक तथा कर्मचारीहरु माथि प्रहरीले दमन गरि निर्घात कुटपिट गर्दा थुप्रै आन्दोलनकारी शिक्षकहरू घाइते हुनुका साथै खुट्टा समेत भाँचिएको घटनाले हाम्रो संगठन अखिल (क्रान्तिकारी) को गम्भीर ध्यानाकर्षण भएको छ । सरकारले आन्दोलन माथि गरेको उक्त दमनको हाम्रो संगठन घोर भर्त्सना र कडा आलोचना गर्दछ ।’

त्यस्तै विज्ञप्तिको अगाडी भनिएको छ, ‘राज्यमा योगदान गरिरहेका शिक्षक र कर्मचारीलाई उचित सम्मान सहित शिक्षक र कर्मचारीका जायज मागहरु तत्काल पूरा गर्न सरकार समक्ष हामी जोडदार माग गर्दछौं । संसदमा दर्ता गरिएको प्रस्तावित ‘शिक्षा विधेयक-२०८०’ ले शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक र समग्रमा मुलुकको हित गर्न सक्दैन । प्रस्तावित विधेयक जनविरोधी र प्रतिगामी छ । निजि शिक्षाका मालिकहरु र अन्तर्राष्ट्रिय दातृ निकायको दबाब र प्रभावमा प्रस्तावित शिक्षा विधेयक आएको हाम्रो ठहर छ । प्रस्तावित शिक्षा विधेयक खारेज गरि शिक्षाको दायित्व राज्यले बहन गर्ने सुनिश्चितता सहित शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य, शिक्षालाई श्रम र उत्पादन सँग जोडि वैज्ञानिक बनाउने गरि जनता र मुलकको हित अनुकूलको शिक्षा ऐन ल्याउनुपर्ने माग सहित हामी सडक संघर्षमा छौं । हामीले शिक्षक र कर्मचारीका जायज मागहरुका सन्दर्भमा ऐक्यबद्धता जाहेर गरेका छौँ ।’

उक्त विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘आन्दोलनमा प्रहरी दमनद्वारा घाइते हुनुभएका शिक्षक तथा कर्मचारीको शिघ्र स्वास्थ्यलाभको कामना सहित उपचारका लागि सरकारलाई अुनरोध गर्दछौं ।’