सिंहदरबारको निषेधित क्षेत्रबाट क्रान्तिकारी संयोजक राई सहित १७ विद्यार्थी नेता गिरफ्तार

काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक मिमन राई सहित १७ विद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गरेको छ ।

प्रस्तावित शिक्षा विधेयकको विरुद्ध निषेधित क्षेत्र मानिएको सिंहदरबार परिसरबाट संगठनका संयोजक राई सहित १७ जनालाई शुक्रबार प्रहरीले गिरफ्तार गरेको हो ।


गिरफ्तार पर्नेमा विद्यार्थी संगठनका फ्याक्सन इन्चार्ज हरिकृष्ण गजुरेल, सह-संयोजकद्धय बिरेन्द्र शाह र पेसल दाहाल, कार्यालय सदस्य प्रभात भट्टराई, प्रभात भट्टराई, सचिवालय सदस्यहरु गोबिन्द बिष्ट र लक्ष्मी शाह, केन्द्रिय सदस्यहरु नवराज विक, रोशन यादव, लक्ष्मण बम, पिके कलेज संयोजक लक्ष्मी पाण्डे, आरआर क्याम्पस संयोजक सर्जन पाण्डे, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस संयोजक राजन साउद, काठमाडौं जिल्ला संयोजक मिम बहादुर ऐडी, त्रिचन्द्र क्याम्पस अध्यक्ष स्मृति कार्की, पशुपति क्याम्पस अध्यक्ष स्टालिन बस्नेत, काठमाडौं जिल्ला कार्यालय सदस्य समीर बिक रहेका छन् ।

उनिहरुले प्रस्तावित जनघाती, प्रतिगामी शिक्षा विधेयक – खारेज गर, शिक्षामा निजीकरण र व्यापारीकरण – अन्त्य गर, शिक्षाको सम्पूर्ण दायित्व राज्यले – बहन गर, निःशुल्क एवम् सिप, श्रम उत्पादनसँग जोडिएको वैज्ञानिक शिक्षा लागु गर, मन्त्री, जनप्रतिनिधि, राजनीतिक दलका ठुला नेता, विश्वविद्यालयका प्राध्यापक, उच्च पदस्थ कर्मचारीहरुले शिक्षामा लगानी गर्न नपाउने – व्यवस्था गर लगायतका नाराहरु सहित निषेधित क्षेत्रमा नाराबाजी गरेका थिए ।

प्रकाउ परेका विद्यार्थी नेताहरुलाई महानगरीय प्रहरी बृत सिंहदरबारमा राखिएको छ ।