स्वच्छता परियोजनाद्धारा खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण

जाजरकोट , स्वच्छता परियोजनाले छेडागाड नगरपालिकाको सहलगानीमा खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण गरेको छ । छेडागाडको पजारु “क” स्वास्थ्य चौकीमा स्वच्छता परियोजनाले खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण गरेको हो ।

स्वच्छ पिउने पानी, अपाङ्गमैत्री शौचालय निर्माण गरेर सेवाग्राहीको स्वास्थ्य सेवा सहज बनाउन स्वास्थ्य चौकीमा खानेपानी योजना र अपाङ्गमैत्री शौचालय निर्माण गरिएको स्वच्छता परियोजनाका ईन्जिनियर सन्तोष ढकालले बताए । उक्त स्वास्थ्य चौकीमा खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण गर्न स्वच्छता परियोजनाको १५ लाख ४३ हजार ५७३ रुपैया ७१ पैसा र छेडागाड नगरपालिकाको ३ लाख ३४ हजार सहलगानी गरी जम्मा १८ लाख ७७ हजार ५७३ रुपैया ७१ पैसा लागत लागेको ईन्जिनियर ढकालले जानकारी दिए । परियोजनाले विभिन्न समयमा जिल्लाका २९ वटा स्वास्थ्य संस्थामा खानेपानी योजना र अपाङ्गमैत्री शौचालय निर्माण गरेको ईन्जिनियर ढकालले बताएका छन् ।

त्यसैगरी परियोजनाले पजारु “क” स्वास्थ्य चौकीमा सामाजिक लेखा परीक्षण, संक्रमण रोकथाम तथा व्यवहार परिवर्तन सम्बन्धि विभिन्न तालिम तथा गोष्ठीहरु संचालन गरेको स्वास्थ्य चौकी ईन्चार्ज नीमराज बुढाले जानकारी दिएका छन् । परियोजनाले जिल्लाका ३४ वटा स्वास्थ्य संस्थामा विभिन्न समयमा सामाजिक परीक्षण, संक्रमण रोकथाम तथा व्यवहार परिवर्तन सम्बन्धिका तालिम तथा गोष्ठीहरु संचालन गरेको परियोजना ईन्जिनियर ढकालले जानकारी दिएका छन् ।

स्वच्छता परियोजना अमेरिकी अन्तरराष्ट्रिय सहयोग नियोग (युएएस आइडी) नेपालको आर्थिक सहयोग, डेभवर्क इन्टरनेश्नलको व्यवस्थापनमा संचालित परियोजना हो ।