ट्रान्सफर्मर पड्किँदा एक प्रहरीसहित १५ जनाको ज्यान गयो

काठमाडौं । भारतको उत्तराखण्डमा विजुलीको ट्रान्सफर्मर पड्किँदा करेन्ट लागेर १५ जनाको ज्यान गएको छ ।

भारतको उत्तराखण्ड राज्यमा बुधवार विद्युत् ट्रान्सफर्मर विष्फोट हुँदा एक प्रहरी अधिकारी र तीन होमगार्डसहित कम्तीमा १५ जनाको ज्यान गएको र अन्य छ जना गम्भीर घाइते भएका भारतीय प्रहरीले बताएको छ ।

उत्तराखण्डको राजधानी देहरादुनबाट झण्डै दुई सय ६६ किलोमिटर पूर्वमा पर्ने चमोली जिल्लाको अलकनन्दा नदीमा रहेको पुलमा विद्युत् आपूर्ति गर्न आयोजनास्थलमा राखिएको ट्रान्सफर्मर विष्फोट भएको हो । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन् ।