सिरियामा ड्रोन आक्रमणमा चार जना मारिए

काठमाडौं । सरकार नियन्त्रित पूर्वी सिरियामा बुधबार इरान समर्थित गुटहरूद्वारा भएको ड्रोन आक्रमणमा चार जनाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । उक्त आक्रमणमा अन्य आठ जना घाइते भएका छन् ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स रामी अब्देल रहमानका अनुसार पूर्वी सहर देइर एजोरमा इरान समर्थित समूहको हतियार कारखाना नजिक ड्रोन आक्रमण भएको हो । आक्रमण शीर्ष इरानी कमाण्डरहरू र लेबनानको हिजबुल्लाह आन्दोलनका वरिष्ठ अधिकारीहरूको निवासलाई लक्ष्य गरेर भएको ठानिएको छ ।

सिरियाली सरकारसँग गठबन्धनमा रहेका इरान समर्थक गुटहरू हिजबुल्लाहलगायत देइर एजोर प्रान्त हुँदै बग्ने युफ्रेटिस नदीको दक्षिण र पश्चिममा भारी मात्रामा तैनाथ छन् । आतङ्कवादीले बिछ्याएको बारुदी सुरुङ देइर एजोर नजिक विस्फोट हुँदा केही हताहत भएका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि त्यसबारे विस्तृत विवरण दिएका छैनन् । गत जनवरी ३० मा सोही क्षेत्रमा भएको ड्रोन हमलामा ११ जना मारिएका थिए ।

सन् २०११ देखि प्रारम्भ भएको द्वन्द्वबाट करिब पाँच लाख सर्वसाधारणको ज्यान गइसकेको छ । शान्तिपूर्ण विरोध प्रदर्शनमा क्रुर दमन भएपछि सिरिया द्वन्द्वको चपेटामा परेको हो । लाखौं घरबारविहीन भएका छन् भने त्यति नै संख्यामा विस्थापित भएका छन् ।