अख्तियारका पूर्व आयुक्त पाठकलाई तीन वर्ष कैद

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकलाई विशेष अदालतले तीन वर्ष कैद सजाय सुनाएको छ । उनलाई जरिवाना पनि तोकिएको छ ।

पाठकलाई तीन वर्ष कैद सुनाइएको विशेष स्रोतले जानकारी दिएको हो । ‘उहाँलाई र अर्का प्रतिवादी लम्बोदर न्यौपानेलाई पनि उति नै सजाय र जनही ३९ लाख जरिवाना भराउने फैसला भएको हो । उहाँलाई भ्रष्टाचार त होइन, उद्योग गरेको भनेर पुष्टि भएको हो,’ ती अधिकारीले सुनाए ।

पाठकलाई सरकारी ओहोदामा रहेर भ्रष्टाचार उद्योग गरेको भनी थप ३ महिना सजाय सुनाइएको छ । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले बिहीबार यस्तो फैसला गरेको हो ।

तत्कालीन आयुक्त पाठक र नेपाल इञ्जिनियरिङ कलेजका सञ्चालक न्यौपानेविरुद्ध अख्तियारले १२ चैत २०७५ मा मुद्दा दायर गरेको थियो । उनले कलेजको स्वामित्व विवादमा परेको उजुरी मिलाइ दिने भनी ७८ लाख रुपैयाँ घूस लिएको अभियोग उनीमाथि थियो ।