वैज्ञानिक समाजवादी शिक्षाको आवश्यकता किन ?

व्यक्ति होईन व्यवस्था बदलौ ! शिक्षामा सुधार होइन आमूल रूपान्तरण गरौं !! जन्म देखि मृत्युपर्यन्तसम्म मानव जीवनलाई सहज, सुखी र समृद्ध बनाउनका निम्ति सक्षम गराउने ज्ञान नै शिक्षा हो । अर्को अर्थमा असल, खराब छुट्याउन सक्ने सही र वैज्ञानिक निर्णय लिन सक्षम बनाउने, विभिन्न समस्याहरूको व्याख्या मात्र होइन समाधानको निम्ति विवेक प्रदान गर्ने ज्ञान वा चेतना नै शिक्षा हो ।

वर्गविभाजित समाजमा शिक्षा पनि वर्गिय हुने भएकाले सर्वहारावर्गिय दृष्टिकोणले शिक्षालाई परिभाषित गर्दा समाजमा हुने गरेको मानवले मानवलाई गर्ने शोषण, विभेद, असमानता पैदा गर्ने र मुनाफाका निम्ति प्राकृतिक स्रोत साधनलाई चरम दोहन गरी मानव जीवनलाई सङ्कट पार्नुका साथसाथै पृथ्वीलाई ध्वस्त बनाउने मावनताविरोधी र प्रकृतिविरोधी पूँजीवादी विचारधाराको विकल्पमा प्रकृतीको रक्षा गर्दै वर्गविहीन सुन्दर समाज निर्माण गर्ने चेतनाको निर्माण गराउनु नै शिक्षा हो । समग्रमा शिक्षा भनेको प्रकृतिलाई रक्षा गर्दै शोषणविहीन, समानता भएको वर्गविहीन सुन्दर समाजको स्थापनाको निम्ति द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा आधारित चेतना नै शिक्षा हो ।

लाखौँ यूवा विद्यार्थीको भविष्य सुनिश्चित र सुरक्षित गर्ने समाजवादी शिक्षा प्रणालीको वैचारिक जग मालेमावाद हो । जसले ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई आत्मसात् गर्दछ।

कुनै पनि मुलुकको शिक्षा प्रणाली उक्त मुलकमा भएको राजनीति र अर्थनीति अनुरूपको हुन्छ । नेपालको वर्तमान राज्यसत्ता दलाल पूँजीवादी संसदीय व्यवस्था हो । त्यस कारण नेपालको वर्तमान शिक्षा प्रणाली दलाल एवं निगम पूँजीवादी शिक्षा प्रणाली हो । नेपालको शिक्षा २००७ देखि २०२८ सम्मको अवधिमा बेलायत र भारतबाट निर्देशित रह्यो । २०२८ मा ल्याइएको नयाँ शिक्षा पद्धतिबाट २०३६ सालमा शिक्षामा निजीकरणलाई वैधानिक दिएसँगै नेपालको शिक्षा दलाल तथा निगम पूँजीवादी शिक्षातिर उन्मुख भयो । दलाल एवम् निगम पूँजीवादी शिक्षा भनेको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, राष्ट्रियता लगायत सम्पूर्ण क्षेत्रमा दलाली, परजीवि र परनिर्भर दास मानसिकता भएको जनशक्ति उत्पादन गर्नु हो । विदेशी तथा दातृ संस्थाद्वारा नियन्त्रित र निर्देशित शिक्षा हुनु, शिक्षालाई निजीकरण र व्यापारीकरण गरी श्रमजीवी जनताको हातबाट शिक्षा खोस्नुको साथै ज्ञानलाई व्यापारको वस्तु बनाई अकुत नाफा कमाउनु, शिक्षालाई मुख्य गरी श्रम र उत्पादनबाट अलग गराई शैक्षिक वेरोजगार उत्पादन गर्नु, युवा विद्यार्थीमा दास मानसिकता निर्माण गर्नु, मानव–मानव बिचमा असमानता, विभेद शोषण उत्पीडन पैदा गर्नु र मुनाफाका निम्ति प्राकृतिक स्रोत साधनलाई दोहन गरी मानव जीवनसँगै प्रकृतिलाई नै ध्वस्त बनाउने प्रकृतिविरोधी र मानवताविरोधी पूँजीवादी विचारधाराको पक्षपोषण गर्ने जनशक्ति उत्पादन गर्नु, राष्ट्रिय आवश्यकतामा भन्दा विदेशीहरुको इच्छा र आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्नु लगायतको विशेषताहरु दलाल एवं निगम पूँजीवादी शिक्षाको विशेषता हो ।

हरेक कोणबाट नियाँल्दा नेपालको शैक्षिक प्रणाली असफल सिद्ध भएको छ । त्यसकारण अन्धकारलाई उज्यालो तिर, पराजयलाई विजयतिर, असफलतालाई सफलतातिर उन्मुख गराउने र नागरिकको आत्मसम्मान, स्वाभिमानको सम्मान गर्दै राष्ट्रिय र सामाजिक आवश्यकतालाई सम्बोधन गर्ने आत्मनिर्भर, सिर्जनशील र सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा वैज्ञानिक समाजवादी शिक्षा प्रणाली मात्र हो ।

लाखौँ यूवा विद्यार्थीको भविष्य सुनिश्चित र सुरक्षित गर्ने समाजवादी शिक्षा प्रणालीको वैचारिक जग मालेमावाद हो । जसले ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई आत्मसात् गर्दछ। पूँजीवादले पैदा गर्ने शोषण, विभेद, असमानतालाई चिर्दै शान्ति, समानता, स्वतन्त्रता सुनिश्चित गर्ने समाजवादी व्यवस्थालाई थप सुदृढ बनाउँदै साम्यवादी व्यवस्था स्थापनाको गर्ने महत्त्वपूर्ण आधार बन्न जान्छ । समाजवादी शिक्षाले अधिभूतवादी आदर्शवादी दृष्टिकोणलाई निषेध गर्दछ । समाजवादी शिक्षा श्रमजीवि वर्गीय शिक्षा हो, जसले शोषणकारी पूँजीवादी शिक्षाको निषेध गर्दछ ।

समाजवादी शिक्षाका विशेषता :

१. बहुप्राविधिक शिक्षामा जोड : बहुप्राविधिक शिक्षा भनेको विद्यार्थीलाई कुनै एक विषयमा मात्र सीमित र सङ्कुचित नबनाइकन सबै विषयमा उदाहरणको लागि प्रकृति विज्ञान, समाज विज्ञान, भौतिकशास्त्र, रसायनशास्त्र, अर्थशास्त्र, दर्शनशास्त्र आदी विषयको आधारभूत ज्ञान सिकाएर विद्यार्थीको चौतर्फी विकास गराई सिर्जनशील, गतिशील, रचनात्मक र स्वाधिन नागरिक बनाउने गर्दछ । यस शिक्षामा सैद्धान्तिक पक्ष र व्यावहारिक पक्षलाई संयोजन गरिन्छ अथवा शिक्षालाई श्रम र उत्पादनसँग जोडिन्छ जसले गर्दा श्रम गर्न र श्रमप्रति सम्मान गर्न सिकाउँदछ । यस शिक्षाले प्रविधी चलाउन मात्र होईन बनाउन समेत सिकाउँदछ । विद्यार्थीको चौतर्फी क्षमताको विकास गराउन समाजवादी शिक्षाले मद्दत गर्दछ, यो विज्ञानमा आधारित शिक्षा हो ।

२. निःशुल्क र समान शिक्षामा जोड : विद्यार्थीको ईच्छा, चाहना, क्षमता र आवश्यकताको आधारमा उसले जुनसुकै विषयको ज्ञान निःशुल्क हासिल गर्न पाउने अधिकारको सुनिश्चित गरिन्छ । पूँजीवादीहरूले शिक्षामा निजीकरण र व्यापारीकरण गरी शिक्षालाई व्यापारको वस्तु बनाएकोले श्रमजीवी जनताको पहुँचबाट टाढा बनाएका छन्। जसले गर्दा गरीबका छोराछोरीहरूको इच्छा र क्षमता हुँदाहुँदै पनि लाखौँ, करोडौँ तिरेर डाक्टर, ईञ्जिनियर, वकिल आदी क्षेत्रमा दक्ष हुन पाइरहेका छैनन् । २१ औँ शताव्दीमा दलाल पूँजीवादीहरूले जति नै स्वतन्त्रता र समानताको नारा लगाए पनी गरीब विद्यार्थीले ज्ञान हासिल गर्ने इच्छा र क्षमतालाई पैसाले कुल्चेर ति विद्यार्थीको सपनाको हत्या गरिरहेका छन्। स्वतन्त्रता र समानताको नाराले आफ्नो आपराधिक र अमानवीय हर्कतलाई लुकाउन पूँजीपतिहरू सफल भइरहेका छन् । समाजवादी व्यवस्थामा लागू हुने वैज्ञानिक समाजवादी शिक्षा प्रणालीमा सर्वप्रथम ज्ञान/शिक्षाको व्यापारको अन्त्य गरिन्छ । बुबा–आमाको खल्तीमा भएको पैसाको आधारमा नभई विद्यार्थीको ईच्छा, क्षमता र आवश्यकताको आधारमा जुनसुकै विषय पनि पढ्न पाउने सुनिश्चितता समाजवादी शिक्षा प्रणालीमा हुन्छ ।

३. श्रम र उत्पादनसँग जोडिएको शिक्षा : “शिक्षा र भौतिक उत्पादनको संयोजन” नै समाजवादी शिक्षा हो भनी माक्र्सले कम्युनिष्ट घोषणा–पत्रमा भन्नुभएको छ । थप माक्र्सले श्रमसँग नजोडिएको शिक्षालाई बेकम्मा भन्नुभयो । यसलाई जोड दिँदै लेनिन भन्नुहुन्छ, “पूँजीवादी शिक्षाको आधारभुत कमजोरी भनेकै श्रमबाट अलग गराउनु हो ।” त्यसकारण पूँजीवादी शिक्षाको विशेषता भनेकै सैद्धान्तिक र व्यावहारिक पक्षको तालमेल नमिल्नु हो । समाजवादी शिक्षामा विद्यालय र शिक्षालाई उद्योग र उत्पादनसँग अनिवार्य जोडिएको हुन्छ । श्रम र उत्पादन विनाको शिक्षा भनेको हातखुट्टा विनाको मानव शरीर जस्तो हुन्छ । समाजवादी शिक्षाले प्रत्यक्ष श्रम र उत्पादनसँग जोडी मानव जीवनलाई सुख, समृद्धितिर उन्मुख गराउदछ ।

४. समाज र देशको माग आधारित शिक्षा : नेपालको वर्तमान दलाल तथा निगम पुजीवादी शिक्षा प्रणालीले व्यक्ति, परिवार, समाज र देशको माग र आवश्यकतालाई परिपूर्ति गर्ने जनशक्ति उत्पादन गर्ने नभई कुन देशमा कस्तो जनशक्ति आवश्यक छ त्यसको परिपूर्ति गर्ने काम नेपालको विद्यालय र विश्वविद्यालय मार्फत उत्पादन गरिरहेका छन् । जस अनुसार नेपाली युवा विद्यार्थीहरू आफ्नो आत्मसम्मान र स्वाभिमानलाई गुमाई विदेशमा सस्तो ज्यालामा श्रमशक्ति बेच्न बाध्य भएका छन् । समाजवादी शिक्षा प्रणालीले देशमा भएको प्राकृतिक स्रोत साधनलाई उपयोग र परिचालन गर्दै समाज र देशको आवश्यकता परिपूर्ति गर्ने जनशक्ति उत्पादन गर्दछ ।

निष्कर्ष :
नेपालको वर्तमान शैक्षिक प्रणालीले शिक्षामा निजीकरण र व्यापारीकरण गरी गरीब किसान मजदुरका छोराछोरीहरूको हातबाट शिक्षालाई खोसिएको छ । साथै शिक्षालाई श्रम र उत्पादनबाट अलग गराई शैक्षिक बेरोजगार जन्माउने गरेको छ । नेपाल अहिलेसम्म कसैको प्रत्यक्ष उपनिवेशमा नरहेतापनि नेपाली युवाहरूलाई आधुनिक तरिकाले अर्काको देशमा दास बनाई देशको स्वाधिनता र नागरिकको स्वाभिमानलाई गुमाएको छ । करीव ७० लाख नेपाली युवाहरू विदेशमा दास जीवन विताउन बाध्य छन् । वर्तमान शैक्षिक प्रणालीले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक हरेक क्षेत्रमा परनिर्भर, परजीवि बनाउने जनशक्ति उत्पादन गरेको छ । यो सबै परिणाम हुनुको मुख्य कारण दलाल पूँजीवादी संसदीय व्यवस्था र यस अन्तर्गत रहेको शैक्षिक प्रणाली हो । तसर्थ यो शिक्षा प्रणाली राष्ट्रविरोधी र जनविरोधी छ। दलाल पुजीवादी राज्यसत्तालाई परास्त गरी गरीब श्रमजीवी जनताको व्यवस्था वैज्ञानिक समाजवादी व्यावस्था स्थापना गरी वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागु गर्नुपर्दर्छ । जसले बहुसङ्ख्यक मानिसको समस्या समाधान गर्दछ । त्यसो हुँदा वर्तमान दलाल एवम निगम पूँजीवादी शिक्षा प्रणालीको अन्त्य गरी वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापना गर्नु अहिलेको आवश्यकता हो ।

लेखक : नेकपा (बहुमत ) निकट अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रिय सदस्य हुन् ।