बाघले एकैपटक २१ बाख्रा मारेपछि…

कैलाली, कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिका–७ को कुइने गाउँमा सोमबार साँझ बाघले झम्टेर २१ बाख्रा मारेपछि स्थानीयवासी त्रसित भएका छन्। गाउँनजिकै रहेको कालिका सामुदायिक वन क्षेत्रमा बाख्रा चराउन लगेको अवस्थामा भएको उक्त घटनापछि स्थानीयवासी आतंकित भएको सोही वडानिवासी गाउँपालिका उपाध्यक्ष कमलबहादुर साउदले बताए।

file photo

‘दुई बच्चासहितको बाघले बाख्रा मारेपछि त्रसित बनेका गाउँवासीलाई सुरक्षित रहन र एक्लै जंगल क्षेत्रमा नहिँड्न भनेका छौँ,’ उपाध्यक्ष साउदले भने, ‘बाख्रा मरेर क्षति बेहोरेका किसानलाई गाउँपालिकाले सक्दो राहतको व्यवस्था गर्ने तयारीमा छौँ।’

एकैसाथ ठूलो संख्यामा बाख्रा मारेको घटनापछि गाउँमा बाघ पस्न सक्ने भन्दै त्रासमा गाउँवासी छन्। स्थानीयवासी धर्मराज मिजारका छ खसी चार बाख्रा, नवीन बडुवालका चार बोका र चार बाख्रा, पहिला बिटालाका दुई बाख्रा, सावित्रा बडुवालका एक बाख्रा बाघले झम्टेर मारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कैलालीको अन्डैया क्षेत्र आसपासमा समेत बच्चा(डमरु) सहितको बाघले एकहप्ताअघि मात्रै स्थानीय बासिन्दाले पालेका तीन बाख्रा खाएको स्थानीयवासी योगेन्द्र चन्दले बताए। सो घटनापछि वन क्षेत्रमा घाँसदाउरा काट्न एक्लै हिँड्न मुस्किल भएको चन्दले बताए। पछिल्ला वर्षमा वन क्षेत्रमा बाघलगायतका वन्यजन्तुको संख्या बढ्दै गएको बताइन्छ। नयाँ पत्रिका