एमाले अध्यक्ष ओली पशुपतिको सन्ध्या आरतीमा सहभागी हुने

काठमाडौँ, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पशुपतिनाथको सन्ध्या आरतीमा सहभागी हुने भएका छन्।

ओलीको सचिवालयले दिएको जानकारी अनुसार सोमबार उनी सन्ध्या आरतीमा अतिथिको रुपमा सहभागी हुन लागेका हुन्।

साउनको सोमबार पारेर वाग्मती किनारामा हुने सन्ध्या आरतीमा ओली सहभागी हुन लागेका हुन्। वाग्मती किनारामा प्रत्येक दिन सन्ध्या आरती हुँदै आएको छ। आरती हेर्न ठूलो संख्यामा मानिसहरु भेला हुने गरेका छन्।

पशुपतिमा सोमबार विशेष आरतीको तयारी गरिएको छ। आरती सुरु भएको वार्षिकोत्सवको अवसरमा पाँचजना पण्डितले आरती गर्नेछन्। यस्तो विशेष आरती हरितालिका तीज, महाशिवरात्रिलगायतका विशेष अवसरमा मात्र हुने गरेको छ।