जगदुल्ला जलविद्युत परियोजनालाई जोड्ने सडक निर्माणका लागि बाटो खुल्यो

सुर्खेत, १०७ मेघावाटको जगदुल्ला जलविद्युत परियोजनास्थलाई जोड्ने गरी सडक निर्माण गर्न बाटो खुलेको छ । प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा मंगलबार भएको छलफलमा सडक निर्माण कार्यलाई अघि बढाउने सहमति भएको हो ।

कार्यक्रममा प्रदेशका ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकाय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन), जगदुल्ला जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक प्रकाश अधिकारी, परियोजना प्रबन्धक सञ्जय सापकोटा सहभागी थिए ।  विद्यमान समस्यालाई एक हप्ताभित्रै समाधान गरेर सडक निर्माणको कामलाई तीव्रता दिने सहमति भएको मन्त्री सिंहले जानकारी दिए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सडक खन्दा हुने समस्यालाई सहजीकरण गर्न सहमति जनाएको मन्त्री लामाले बताए । भौतिक पूर्वाधार तथा सहरी विकास कार्यालय डोल्पाबाट सडक निर्माणका लागि ठेक्का लागेको छ । त्रिवेणीस्थित भेरी नदीमा पुल निर्माण गर्न आयोजनाले नै ठेक्का लगाएको हो । आफ्नो मन्त्रालयबाट हुने कार्यलाई तत्काल अघि बढाउन अग्रसरता बढाएको भौतिक तथा सहरी विकास मन्त्री रोकायाले बताए ।

जाजरकोट–डोल्पा सडक खण्डको त्रिवेणीबाट आयोजनास्थलसम्म सडक बनाउन ९२० मिटर लामो भिर फुटाउन विस्फोटक पदार्थ प्रयोग गर्नुपर्नेछ । त्यसका लागि ‘आईईई’ रिपोर्ट आवश्यक पर्ने भएकाले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले यसमा सहयोग गर्ने सहमति भएको हो ।