भू-माफियाको नियन्त्रणमा रहेको ९६ रोपनी जग्गा नेकपा बहुमतद्धारा कब्जा

पोखरा । भू-माफियाको नियन्त्रणमा रहेको जग्गा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)द्धारा कब्जा गरिएको छ । पोखरा महानगरपालिका २१ फोक्सिङ्ग,पोख्रेलथोकमा रहेको करीब ९६ रोपनी जग्गा जालसाँजी गर्दै भू-माफियाले आफ्नो नियन्त्रणमा लिएका थिए । उक्त ९६ रोपनी बिवादीत जग्गाको सुचना पाउनासाथ नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आफ्नो नियन्त्रणमा लिएको हो ।वास्तविक किसानको समस्या समाधान नहुन्जेलसम्म उक्त जग्गा बिक्री बितरण नगर्न नेकपा बहुमतले अनुरोध गरेको छ । तत्कालिन गा.वि.स र विन प्रा.ली विच २०५७ भदौ २६ मा भएको सम्झौता निर्धारित समयमा कार्यन्वयन नभएको भन्दै सम्झौता खारेजीको माग गर्दै जग्गा कब्जा गरिएको नेकपा बहुमतले बताएको छ ।

साविक निर्मलपोखरी गा.वि.स वडा न ६ फोक्सिङ्ग हाल पोखरा २१ पोख्रेलथोकमा रहेको जग्गामा तत्कालिन गा.वि.स, सम्बन्धित जग्गादाता र विन प्रा.ली विच १४ बुँदामा त्रिपक्षिय सम्झौता भएको थियो । सम्झौता अनुरुप विन प्राईभेट लिमिटेडले जैविक कृषि फर्म, रिसोर्ट र अन्तर्राष्ट्रियस्तरको बिद्यालय स्थापना गर्ने भनि सम्झौता गरीएको थियो । साथै उक्त सम्झौता अनुरुप विन प्राइभेट लिमिटेडले आफ्नो कार्य पाँच बर्षसम्म सञ्चालन नगरेमा हाल विन प्रा.लि कम्पनीले लिएको मुल्यमा नै जग्गा दाताहरुलाई फिर्ता गर्ने कुरामा सहमति सम्झौता भएको थियो । सहमति सम्झौता अनुसार उत्त कम्पनिले २१ बर्षसम्म कुनैपनि कार्य गरेको छैन ।

जग्गा नियन्त्रणमा लिएको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) द्धारा पाँच बुँदे अपिल सहित जग्गा नियन्त्रणमा लिनुको कारण सहितको पर्चा समेत भेटिएको छ ।