ल्याउँछ्यौ कहाँबाट ?

मेरो एक मात्र जिउने आधार
मेरी प्रिय आमा
कति बोक्छयौ पीडा
कति लुकाउँछ्यौ कुरा
कति रून्छ्यौ एक्लै
कति टुट्छ्यौ एक्लै
यति धेरै सहनशीलता
ल्याउँछ्यौ कहाँबाट ?

परिवारको सेवामा दिनरात खछ्यौ
आफ्नो पर्वाह नगरी
मेरो हेरचाहमा अल्झिन्छ्यौ
आफू अनिदौ बसी मलाई सुताउँछ्यौ,
आफू भोकै बसी मेरो पेट भरिदिन्छ्यौ
यति धेरै न्यानो र निस्वार्थ
माया ल्याउँछ्यौ कहाँबाट ! ?

सबैको दुःख, पीडा सम्हाल्दा सम्हाल्दैँ
आफ्नै दुःख बिर्सन्छ्यौ
अरुको हाँसोमा हाँसेर
आफ्नै पीडा भुलाउँछ्यौ,
आफूलाई परेका ती अनगिन्ती
असजिला, अप्ठ्यारा पीडाहरू
सबै लुकाएर हाँस्ने
शक्ति ल्याउँछ्यौ कहाँबाट ?

परिवारमा कसैलाई केही आइपर्दा
आतिन्छ्यौ, लड्छ्यौ, सहन्छ्यौ
निस्वार्थ माया दिँदा पनि प्रश्न उठ्दा
हाँसिखुसी जबाफ दिन्छ्यौ,
बिग्रिरहेका कार्यहरु आफ्नो
सुशील स्वभावले सम्हाल्छ्यौ
सबै कुरामा सकारात्मकता
भेटाउने कला ल्याउँछ्यौ कहाँबाट ?