ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमको अर्बौं रुपैयाँ दुरुपयोग गरे : महत

काठमाडौं, नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत तत्कालीन प्रधानमन्त्री केपी ओलीले अर्बौं रुपैयाँ दुरुपयोग गरेको दाबी गरेका छन् ।

शुक्रबार राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रका समसामयिक मुद्दाहरू र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथिकाे छलफलमा बोल्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार रहँदा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको पैसा बालुवामा पानी हालेझैँ दुरुपयोग भएको आरोपसमेत लगाए। नेता महतले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको पैसालाई आफ्नो किसिमबाट सरकारले तोडमोड गरेर कार्यकर्ताहरूलाई खुसी पार्ने काम मात्र गरेको बताए ।

नेता महतले अहिले नेपालको ऋणको प्रतिशत बढिरहेको यो गम्भीर विषय भएको बताए । उनले नेपालले पनि जथाभावी ऋण लिने हो भने अहिलेको श्रीलंकाको अवस्था हुने बताए । नेता महतले विकास र समृद्धिको लागि सरकारले सहुलियत ऋण लिन आवश्यक रहेको बताए । उनले व्यापार घाटालाई घटाउन पेट्रोलियम प्रोडक्टहरूलाई रोक्न जरुरी रहेको बताए ।

नेता महतले व्यापार घाटालाई घटाउन डिजेल र पेट्रोलमा आधारित यातायातलाई निश्चित समयसीमाभित्र विद्युतीय माध्यममा स्थापित गर्नुपर्ने बताए । उनले देशको आर्थिक विकास गर्न र देश विकास गर्न ऋण इकोनोमीमा जानुपर्ने पनि बताए ।