माओवादी नेता देव गुरुङ किन गए चीन ?

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ चीन गएका छन् । आज (शुक्रबार) माओवादी केन्द्रका नेता वर्षमान पुन (अनन्त) र पूर्व सभामुख समेत रहेकी पत्नी ओनसरी घर्तीसहित गुरुङ पनि कार्गो जहाजमार्फत चीन गएका हुन् ।

पुनको स्वास्थ्य अवस्था सामान्य रहे पनि चीनबाट फर्किनुअघि चिकित्सकले दुई महिनापछि फलोअपमा आउन भनेकाले उपचारका लागि गएको घर्तीले बताइन् । फलोअप उपचारका लागि पुन पत्नीसहित चीन गएका हुन् ।

सोहि जहाजमा प्रमुख सचेतक गुरुङसमेत कुटनीतिक राहदानी प्रयोग गरी बेइजिङ गएका हुन् । उनको भ्रमणलाई माओवादी केन्द्रले भने गोप्य राखेको छ । चीनले वाम एकताका लागि मध्यस्थ गरिदिने भनिरहेका बेला एमाले उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरु चीनमै छन् । चीनको कुन्मिङमा भएको इकोनोमिक कोअपरेशन एण्ड कल्चरल एक्सचेन्समा सहभागी हुन एमाले नेताहरु चीन गएका छन् ।

पौडेलसहितको टोली चीनमा रहेका बेला माओवादी केन्द्रका नेताहरु पनि चीन गएका हुन् । उनीहरुले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओसँग द्वीपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने बताइएको छ ।

चीनले नेपालका कम्युनिष्ट शक्तिहरुलाई एक हुन आग्रह गर्दै आएको छ । नेकपाभित्र आन्तरिक कलह चर्किएको समयमा पनि नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले सक्रियता बढाएकी थिइन् । सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको एमाले र माओवादीबीचको एकता बदर गर्ने फैसलापछि दुई पार्टीलाई मिलाउन चीनको सक्रियता भइरहेको छ ।

निर्वाचन नजिकिइरहेको समयमा चीनले पुनः एकपटक फुटेका कम्युनिष्ट शक्तिहरुलाई एक बनाउने प्रयास गरेको छ । नेपालका दुवै कम्युनिष्ट पार्टीका नेताहरुको चीन भ्रमणलाई अर्थपूर्थ रुपमा हेरिएको छ ।