यस्ता छन् उम्मेदवार बन्न एमालेका ६ मापदण्ड

पार्टीलाई पहिलो शक्ति बनाउने दाबी

काठमाडौं, नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ । पार्टी केन्द्रीय कमिटीको बिहीबार सम्पन्न बैठकले एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यसहितको निर्णय गरेको हो ।

फाइल तस्वीर

बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले एउटै लयका साथ जनताको घर दैलोमा जान निर्देशन दिएका छन् । त्यसक्रममा अध्यक्ष ओलीले विचार, दृष्टिकोण र संगठनका हिसावले एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने राजनीतिक दलहरु नभएको बताएका थिए ।

बैठकमा सातै प्रदेशका अध्यक्षले रिपोर्टिङ गरेका थिए, जसलाई बैठकले ग्रहण गरेको छ भने अध्यक्ष ओलीको प्रतिवेदन पनि पारित भएको छ । अध्यक्षको प्रतिवेदनमा सदस्यहरुले दिएका सुझाव समेटेर प्रतिवेदन सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ । साथै बैठकले विभागहरुको पूर्णता दिन केन्द्रीय सचिवालयलाई अधिकार प्रत्यायोजन गरेको छ । एमालेको विधानअनुसार प्रत्येक विभागमा ३५ जना सदस्य रहने व्यवस्था छ । ति मध्ये धरै विभागले पूर्णता पाउन बाँकी छ ।

बैठकले स्थानीय तह निर्वाचन उम्मेदवारको मापदण्डबारे निर्णय गरेको छ । जसमा वडाध्यक्षको हकमा वडा कमिटीको सिफारिस, गाउँपालिकाको सिफारिससहित जिल्ला कमिटीको निर्णय गर्नेछ । यसैगरी गाउँर नगरका प्रमुख उपप्रमुखको गाउँ र नगर तथा जिल्लाको सिफारिसमा प्रदेशले निर्णय गर्नेछ ।

महानगर र उपमहानगरको उम्मेदवारको हकमा जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रले निर्णय गर्ने भएको छ । एमालेले उम्मेदवार बन्न ६ वटा मापदण्ड पारित गरेको छ । जसमा पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता,निर्वाचित जनप्रतिनिधिको मुल्यांकन,लोकप्रियता र विजयको सुनिश्चितता,योगदान र पार्टीप्रतिको निष्ठा तथा कार्यक्षमता, सुशासनप्रतिको दृष्टिकोण र सन्तुलन र समावेशीतालाई आधार बनाएको छ ।

बैठकले यी लगायत विभिन्न ११ वटा निर्णय गरेको बैठकपछि एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

यस्तै एमालेले स्थानीय निर्वाचन घोषणापत्र तयारीका लागि कार्यदल गठन गरेको छ । एमालेले बैशाख नौ गते निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने गरी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदल गठन गरेको हो ।

त्यस्तै पार्टीको बार्षिक क्यालेन्डर प्रकाशन गर्ने, बैशाख नौ गते पार्टी स्थापना दिवस सिर्जनशील ढंगले मनाउने जुन दिन केन्द्रमा घोषणापत्र र स्थानीय तहमा प्रतिवद्धता जारी गर्ने एमाले केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ ।

त्यस्तै केन्द्रीय कमिटी बैठकले सवै केन्द्रीय सदस्यहरुलाई स्थानीय तह निर्वाचन पार्टीको पक्षमा पार्न आ आफ्ना भुगोलमा केन्द्रीत हुन निर्देशन पनि दिएको छ । बैठकले यसअघि सचिवालय बैठकले गरेका विभिन्न निर्णयको पनि अनुमोदन गरेको छ । साथै केन्द्रीय लेखा आर्थिक विनियम पारित गरेको बैठकले विविध शिर्षकमा प्रदेशमा २९ वटासम्म विभाग गठन हुनसक्ने निर्णय गरेको छ ।

त्यस्तै पार्टी प्रवेश गरेका नेता कार्यकर्ताको व्यवस्थापनका लागि अभिलेख तयार गरेर जिम्मेवारी दिन बैठकले केन्द्रीय सचिवालयलाई अधिकार प्रत्यायोजन गरेको छ भने प्रवासी नेपाली मञ्चको विधान मस्यौदा पनि पारित गरेको छ ।