रुसमा फेसबुकमाथि प्रतिबन्ध

काठमाडौँ, रुसले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाइएको भन्दै रुसले फेसबुक, ट्विटर र युट्युबगायतका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको हो ।

सञ्चारमाध्यम र सूचना प्रविधिसम्बन्धी रुसी नियामक निकाय रोस्कोमनाद्जोरका अनुसार फेसबुकले अक्टोबर २०२० देखि यता रुसी सञ्चारमाध्यमाथि २६ वटा विभेदपूर्ण व्यवहार गरेको जनाएको छ । साथै युक्रेनसँग संघर्ष चलिरहेका बेला सरकारी सञ्चारमाध्यम आरटी र आरआईए न्युज एजेन्सीमाथि प्रतिबन्ध लगाएको पनि रुसले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेनाका बारेमा ‘फेक न्युज’ प्रसारण गर्नेलाई १५ वर्ष जेल सजाय हुने कानुनमा समेत हस्ताक्षर गरेका छन् । पछिल्ला केही वर्षमा रुसी सरकार र ठूला प्रविधि कम्पनीबीच विवाद रहँदै आए पनि युक्रेनसँगको संघर्षका बेला झन् चर्किएको हो ।

त्यस्तै रुसी समाचार संस्था तास र इन्टरफ्याक्स न्युज एजेन्सीले पनि आफूहरूलाई ट्विटरमा प्रतिबन्ध लगाइएको बताएका छन् । ट्विटरले भने यसबारेमा कुनै प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

फेसबुकको प्यारेन्ट कम्पनी मेटाका विश्व मामिला प्रमुख निक क्लेगले भने रुसमा सेवा पुन: सुरु गर्नका लागि आवश्यक प्रक्रिया अपनाइएको बताएका छन् । प्रतिबन्धले लाखौँ रुसी नागरिक विश्वसनीय सूचनाबाट वञ्चित हुने र परिवार र साथीहरूसँग कुरा गर्न नपाउने भएकाले छिट्टै नै सेवा सञ्चालन हुने उनको भनाइ छ ।

युक्रेनमाथि गत फेब्रुअरी २४ देखि लगातार आक्रमण गरिरहेको रुसमाथि विभिन्न मुलुकले प्रतिबन्ध लगाएका छन् । त्यसैबीच ठूला कम्पनीमाथि पनि प्रतिबन्ध घोषणा गर्न दबाब दिइएको छ । अल्फाबेट र गुगलले समेत रुसमा विज्ञापन रोकिसकेका छन् ।

गत हप्ता रुसले फेसबुकलाई आंशिक रूपमा प्रतिबन्ध लगाइएको बताएको थियो । केही दिनयता रुसले बीबीसी, भ्वाइस अफ अमेरिका, रेडियो फ्री युरोपलगायतका विदेशी सञ्चारमाध्यमलाई ‘गलत सूचना’ प्रवाह गरेको भन्दै आंशिक रूपमा प्रतिबन्ध लगाएको थियो । रुसमा करिब ७५ लाख फेसबुक प्रयोगकर्ता रहेको बताइन्छ । इन्स्टाग्राम, ह्वाट्सएप र मेसेन्जर गरी १२ करोड प्रयोगकर्ता रहेको रोयटर्सले जनाएको छ ।

रुसमा स्थानीय सामाजिक सञ्जाल ‘भीके’ प्रयोगकर्ता पनि ६ करोडभन्दा बढी रहेका छन् । सरकारले फेसबुकमाथि प्रतिबन्ध लगाएपछि रुसमा भीपीएन एप डाउनलोड गर्नेको संख्या पनि बढेको छ । युक्रेनमाथिको आक्रमणपछि रुसमा करिब १३ लाख पटक भीपीएन डाउनलोड गरिएको छ ।

रुस र युक्रेनबीच युक्रेनको उत्तरी, दक्षिणी र पूर्वी क्षेत्रमा नवौँ दिन पनि भीषण संघर्ष जारी रहेको छ ।