माओवादी नेता पुन अस्पतालबाट डिस्चार्ज

काठमाडौं, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ रोगबाट ग्रसित नेता पुन मंगलबार अपराह्न चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएका हुन् ।

पुनको थाइल्यान्डको राजधानी बैंकक र चीन सेनजेनमा गरी ९८ दिन लामो उपचार भएको थियो । नेता पुन आज डिस्चार्ज भए पनि उनी तीन दिनपछि नेपाल फर्किने भएका छन् । पुनसँगै उनकी धर्मपत्नी ओनसरी घर्तीमगर पनि चीनमै रहेकी छन् ।

माओवादी केन्द्रको महासचिवमा पुनको पनि दाबी भएकाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी टुंगो लगाउन सकेका छैनन् ।

आइतबार बसेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेपनि बाँकी पदाधिकारी र ६३ केन्द्रीय सदस्यको मनोनयन नगरी पुस २५ गते बस्नेगरी स्थगित गरिएको छ।