माओवादीमा शक्ति बस्नेतको प्रभाव, चर्को गुटबन्दी चिर्दै महासचिवको दाबेदार

अध्यक्ष दाहाल तेस्रो विकल्पको खोजीमा

काठमाडौं । बौद्धिक तथा सालिन नेताको छवि बनाएका शक्ति बस्नेत प्रचण्डका बलिया खम्बाका रूपमा मानिन्छन् ।

माक्र्सवादी दर्शनको अध्ययनमा विशेष दख्खल राख्ने नेता बस्नेत पाटीका बिचार र नीति तर्कपूर्ण शैलीमा स्पष्ट रूपमा सम्प्रेषण गर्ने नेता मानिन्छन् । पुस्तक अध्ययनमा निकै रुची राख्ने उनी जनयुद्धका बेला भेरी कर्णालीलाई लालकिल्ला बनाउन विशेष भूमिका खेलेका नेता हुन् । माओवादी जनयुद्ध उत्कर्षमा रहेका बेला बस्नेत जनमुक्ति सेनाको डिभिजन कमिसार भएर गण्डकमा रहेको सेनाको नेतृत्व गरेका थिए । जति बेला माओवादीले ढाडमा टेकेर टाउकोमा हान्ने कार्यनीति लिएको थियो । स्वास्थ्य, वन र गृहमन्त्री बनेर तीनपटक कुशलतापूर्वक भूमिका निर्वाह गरेका बस्नेत आफै चर्चामा आउन भने नचाहने नेतामा पर्दछन् ।

नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशन काठमाडौंको प्रज्ञा भवनमा जारी छ । बन्दसत्रमा विभिन्न समूहले छलफल गरेर सुनाएको निष्कर्ष र प्रस्तावमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज जवाफ दिने क्रम जारी छ । नेतृत्व चयनको विषय पेचिलो बनिरहदा यतिबेला माओवादीमा नयाँ ट्वीस्ट देखिएको छ । जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुसालमध्ये एकजना महासचिव चुनिने पक्कापक्की हुँदै गर्दा महासचिवमा अर्का नेताले इन्ट्री मारेका छन् । माओवादी स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले महासचिवमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।

बस्नेतले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व चयनको लागी ल्याएको सर्वसम्मत प्रस्ताव मान्ने तर, निर्वाचन हुने अवस्थामा भने आफुले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पूर्वगृहमन्त्री समेत रहेका नेता बस्नेतले आफुले महासचिवमा उम्मेदवारी दिने बताएका हुन् ।

हाल माओवादी केन्द्रको कर्णाली प्रदेशका इन्चार्ज रहेका बस्नेत पछिल्लो समय माओवादीका एक प्रभावशाली नेताका रुपमा खडा हुन पुगेका छन् । पछिल्लो समय माओवादीमा शर्मा र पुनबीच महासचिवका लागी चर्को गुटबन्दी चलिरहेको छ । उनीहरुले एकले अर्कालाई छोड्ने अवस्था नभएपछि अध्यक्ष दाहालले तेस्रो विकल्पमा जाने सोच बनाएसँगै बस्नेतले महासचिवमा आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए । जसलाई माओवादी भित्र अर्थपूर्णरुपमा लिइएको छ ।