१२ करोड कर छल्ने पाँच जना व्यापारीविरुद्ध विरुद्ध मुद्दा

काठमाडौं, राजस्व अनुसन्धान विभागले पाँच व्यापारीविरुद्ध २४ करोड ४१ लाख २२ हजार ४६६ रुपैयाँ सजाय मागदाबीसहित मुद्दा दायर गरेको छ ।

विभागले उच्च अदालत पाटनमा कर छली गरेको आरोपमा पाँच व्यापारीविरुद्ध मुद्दा दायर गरेको हो । बाराको करैया गाउँपालिका–७ मा रहेको यादव बिजनेस ट्रेडलिंकका प्रोपाइटर सोनालालप्रसाद यादव, सानुकुमार श्रेष्ठ, मुकेशकुमार झा, परमेश्वर साह र जयकिशोर साहविरुद्ध मुद्दा चलाएको हो ।

उनीहरुले वस्तु तथा सेवा खरिद नै नगरी झूठो तथा नक्कली कर बीजक खरिद गरेर मूल्य अभिवृद्धि कर र आयकर समेत छली गरेको विभागले जनाएको छ । विभागका अनुसार उनीहरुले ४ करोड ४१ लाख १९ हजार २६ रुपैयाँ र आयकरतर्फ ७ करोड ८९ लाख ४२ हजार २०७ रुपैयाँ करछली गरेका छन् ।

सोहीअनुसार राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन २०५२ अनुसार करछलीको १२ करोड २० लाख ६१ हजार २३३ रुपैयाँ र बिगोको शत प्रतिशत जरिवाना समेत गरी २४ करोड ४१ लाख २२ हजार ४६६ रुपैयाँ सजाय मागदाबी गरिएको विभागले जनाएको छ ।