गद्दाफीका छोरा राष्ट्रपति पदका लागि लड्ने

एजेन्सी, लिबियाका पूर्वनेता मुअमर गद्दाफीका छोरा सैफ अल–इस्लाम गद्दाफी देशमा आगामी डिसेम्बरमा हुन लागेको निर्वाचनमा राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेको निर्वाचन आयोगका पदाधिकारीले जानकारी दिएका छन् ।‘सैफ अल–ईस्लाम अल गद्दाफीले सेबाहमा रहेको उच्च राष्ट्रिय निर्वाचन आयोगमा राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्,’ आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गद्दाफीसँगै कमान्डर खलिफा हफतार, प्रधानमन्त्री अब्दुल हमिद देबाह र सभामुख अगुइला सालेहले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

सामाजिक सञ्जालमा सेयर गरिएको तस्बिरमा गद्दाफीले पारम्परिक पहिरनमा रजिस्ट्रेसन सेन्टरमा दस्तावेजहरु हस्ताक्षर गर्दै गरेको देखिएको छ ।

आगामी डिसेम्बर २४ मा निर्वाचनको मिति तय गरिए पनि सो मितिमा नै चुनाव हुने वा नहुनेमा अझै अन्योल रहेको छ । सन् २०११ मा नेटो समर्थित विद्रोहपछि लिबियामा हुन लागेको निर्वाचनलाई संयुक्त राष्ट्रसंघले समर्थन गरेको शान्ति प्रक्रियाको महत्त्वपूर्ण पल मानिएको छ ।