इराकमा प्रधानमन्त्री निवासमै ड्रोन हमला

प्रधानमन्त्री कादिमी सुरक्षित

काठमाडौँ, इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्री मुस्तफा अल–कादिमी भने ड्रोन हमलाबाट बच्न सफल भएका छन् ।

राजधानी बग्दादको ग्रीनजोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट हमला गरिएको सीएनएनले जनाएको छ ।

प्रधानमन्त्री कादिमीको हत्या गर्ने उद्देश्यले आक्रमण गराइएको इराकी अधिकारीहरूले बताएका छन् । ड्रोन आक्रमणबाट इराकी प्रधानमन्त्री घाइते भएको र उनलाई अस्पताल लगिएको भनिए पनि प्रधानमन्त्री कादिमी आफैले सामाजिक सञ्जालबाट आफू सुरक्षित रहेको जानकारी दिएका हुन ।

उनले इराक र इराकी जनताको हितका लागि शान्त र धैर्य बन्न पनि आग्रह गरेका छन् । थुप्रै सरकारी कार्यालयहरू र विदेशी दूतावासहरू समेत रहेको भीआपी क्षेत्रमा गराइएको हमलाको जिम्मेवारी भने कसैले पनि लिएको छैन ।

पछिल्ला दिनहरूमा इरानी सत्तासँग सम्बन्धित केही हतियारधारी समूहहरूले गत महिना इराकमा सम्पन्न निर्वाचनको परिणामलाई लिएर ग्रीनजोन नजिकै विरोध प्रदर्शन गर्दै आईरहेका छन् ।